काठमाडौं । ‘जनयुद्ध दिवस’मा दिइएको विदा खारेज गर्नुपर्ने भन्दै द्वन्द्व पीडित र नागरिक समाजले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
काठमाडौं जिल्ला अदालत अगाडी भेला भएका नागरिक समाज, मानवअधिकारवादी संघसंस्थासँग आवद्ध व्यक्तिहरु र द्वन्द्वपीडितले सरकारको निर्णयको चर्को विरोध गरेका हुन् ।
‘जनयुद्ध दिवस’ नेपाल र नेपालीका लागि कालो दिन भएकाले सार्वजनिक विदा खारेज गर्नुपर्ने उनीहरुको माग छ ।
उनीहरुले सार्वजनिक विदाले द्वन्द्व पीडितलाई थप पीडा पु¥याएको आरोप लगाएका छन् । त्यस्तै उनीहरुले द्वन्दपीडितलाई न्याय गर्नुपर्ने माग राखेका छन् ।
विरोध प्रदर्शनका क्रममा द्वन्द्वपीडितलाई न्याय दे, बेपत्ता आन्दोलन जारी छ, अदालतको फैसला लागू गर, दण्डहीनताको अन्त्य गर, हुकुमी शासन बन्द गर, लुटिएको सम्पति फिर्ता गर, हत्यारालाई फाँसी दे लगायतका नाराबाजी भएको छ ।
विरोध प्रदर्शनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मानवअधिकारवादी सुशील प्याकुरेलले जनयुद्ध दिवस भनि बिदा दिनु ज्यादति भएको बताएका छन् ।
त्यस्तै मानवअधिकारवादी चरण प्रसाईंले वर्तमान सरकार पीडितको पक्षमा नभई पीडकको पक्षमा उभिएको आरोप लगाएका छन् । उनले हत्या, हिंसा गरेको दिनलाई दिवसको रुपमा मनाउनु नाजायज भएकाले आफूहरुले त्यसको विरोध गर्नु परेको बताएका छन् । हत्या, हिंसा गर्नेहरुका लागि उत्सव, दिवसको रुपमा बिदा दिने सरकारको निर्णय गलत भएकाले यसको घोर विरोध गर्नुपर्नेबताएका छन् ।



















