काठमाडौं । फागुन ११ गतेबाट सुरु हुने केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको तालिका सार्वजनिक गरिएको छ ।
आयोजक राष्ट्रिय युवा संघ नेपालले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपको तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन् । पुलिस र सातदोबाटोबीचको खेल फागुन ११ गते एन्फा कम्प्लेक्समा हुनेछ । खेल ३ बजे सुरु हुनेछ । प्रतियोगिताको फाइनल बाहेक सम्पूर्ण खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । फाइनल खेल भने दशरथ रंगशालामा आयोजना हुने राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले जनकारी दिएका छन् ।
प्रतियोगिता फागुन ११ गतेबाट १७ गतेसम्म हुनेछ । प्रतियोगिता आठ टोलीको सहभागिता रहेको छ ।
‘ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब छन् भने एक आयोजक टोली केपी ओली फुटबल क्लब रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।