काठमाडौं । नेपाल चिकित्सक संघले देशभर स्वास्थ्य सेवा अवरुद्ध गर्ने गरी गरेको आन्दोलन स्थगित गरेको छ । आइतबार बिहान प्रधानमन्त्री कार्यालयमा सरकार र संघबीच भएको छलफलमा आन्दोलनका कार्यक्रम स्थगित गर्ने निर्णय भएको संघका अध्यक्ष डा. लोचन कार्कीले बताएका छन् ।
संघका अध्यक्ष कार्कीका अनुसार सरकारसँग सहमति भएसँगै घोषणा भएका आन्दोलनका सबै कार्यक्रमहरू स्थगित भएका हुन ।
आइतबार बिहानै ८ बजे देखि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सरकार र चिकित्सक संघका प्रतिनिधिबीच वार्ता भएको थियो।
वार्तामा सरकारी पक्षको नेतृत्व प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डे, स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयको प्रतिनिधिहरु उपस्थित थिए ।
चिकित्सक संघको तर्फबाट नेतृत्व डा. लोचन कार्कीले गरेका थिए भने सो टोलीमा महासचिव डा. बद्री रिजाल, डा. रुद्र मरासिनी, संघका पूर्व अध्यक्षहरुको सहभागिता थियो ।
गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षार्थ खटिएका प्रहरीबाट एक जना चिकित्सक पिटिएपछि आन्दोलनमा उत्रिएको संघले आइतबार आकस्मिक बाहेकका देशका सबै स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको थियो ।
सरकारी वार्ता टोलीसँगको ६ बुँदे सहमतिपश्चात चिकित्सकको आन्दोलन रोकिएको हो । सहमति अनुसार घाइते चिकित्सवको उपचार व्यवस्था सरकारले मिलाउने, चिकित्सकमाथि कुटपिट गर्ने सुरक्षाकर्मीलाई निलम्बन गरी छानबिन सुरू गरिसकिएकाले एक साताभित्र छानबिन सकेर दोषीलाई कारबाही गर्ने सहमति भएको छ ।
त्यस्तै ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा गर्नुपर्ने परिमार्जनबारे एक साताभित्र सुझाव पेश गर्ने पनि सहमति गरिएको छ ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (संशोधनसहित) ऐन, २०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने पनि दुवैतर्फका वार्ता टोलीबीच सहमति भएको छ ।
स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था गर्ने पनि सहमति गरिएको छ ।
यस्तो छ सहमति –





















