काठमाडौं । आज लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन हुँदैछ । निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशमा राष्ट्रिय सभाको एक रिक्त सदस्यका लागि आज हुने उपनिर्वाचनमा घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।
राष्ट्रिय सभा सदस्यको एक पदका लागि तीन जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सत्तारूढ दलका तर्फबाट एमालेका कुमार दसौदी र प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन् भने सत्ता गठवन्धनमै रहेको नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय पनि उम्मेदवार छन् ।
नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो । तर भट्टराई अन्तिममा उम्मेदवार समेत बन्न पाएका थिएनन् ।
राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ ।
लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ रहेको छ । जसमध्ये प्रदेश सांसदको संख्या ८७ छ । प्रदेश भर १०९ स्थानीय तहका स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
प्रदेशसभा सदस्यतर्फ नेकपा एमालेले २९, नेपाली काँग्रेसले २७, नेकपा माओवादी केन्द्रले १०, नागरिक उन्मुक्ति र राप्रपाले ४/४ लोसपा तथा जसपा र जनमत पार्टीले ३/३ सीट जितेका छन् ।
निर्वाचनमा स्थानीय तह र प्रदेशसभा सदस्यको मत भार छुट्टाछुट्टै गणना हुन्छ । स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मत भार १८ र प्रदेशसभा सदस्यको मत भार ४८ छ ।
प्रदेशमा नेपाली कांग्रेसका कुल २७ सांसद छन् । प्रदेशबाट मात्रै उसको १ हजार २९६ मत भार हुन्छ । स्थानीय तहबाट कांग्रेसका प्रमुख २१, अध्यक्ष २७, उपप्रमुख १२, उपाध्यक्ष ३२ गरी कूल ९२ जना छन् । उनीहरूको मत भार १ हजार ६५६ हुन आउँछ । यसरी हेर्दा स्थानीय तह र प्रदेश सभामा गरी कांग्रेससँग कूल २ हजार ९५२ मत भार छ ।
एमालेसँग स्थानीय र प्रदेशतर्फ गरी कूल २ हजार ५९८ मत भार छ । एमालेका २९ जना प्रदेश सांसद छन् भने स्थानीय तहतर्फ प्रमुख ९, अध्यक्ष १८, उपप्रमुख १६, उपाध्यक्ष २४ गरी ६७ जना छन् । प्रदेश र स्थानीय तहतर्फ गरी माओवादीसँग कूल १ हजार १६६ मत भार छ । प्रदेश सभामा माओवादीका १० सांसद रहँदा स्थानीय तहमा ४० मतदाता छन् ।
त्यसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मत भार २४६, जनता समाजवादी पार्टी (जसपा)को २५२, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को २१६, नागरिक उन्मुक्ति पार्टीको १९२, जनमत पार्टीको १४४, राष्ट्रिय जनमोर्चाको १२०, एकीकृत समाजवादीकाको ४८, जनता प्रगतिशील पार्टीको ३६ र स्वतन्त्र २ सांसदको मत भार ९६ छ । यसरी हेर्दा वर्तमान सत्तारूढ गठबन्धन (७ दल)को मत भार ४ हजार ५९६ रहेको छ ।
जुन कांग्रेसको भन्दा १ हजार २५४ मतभारले बढी हो । तर उन्मुक्तिको उम्मेदवारीले मत भार एमालेको कमी भएपनि जितका लागि कठिन देखिँदैन । सत्तारुढ दलहरूले मुख्यमन्त्री लीला गिरीलाई विश्वासको मत दिएकाले पनि स्वतन्त्र २ सांसदसहित एकीकृत समाजवादी तथा जनता प्रगतिशील पार्टीले पनि आफ्नो उम्मेदवारलाई मत दिने आंकलन गरेका छन् ।
कांग्रेसलाई पहिलेको गठबन्धनमा रहेका लोसपा, जनमोर्चा र एकीकृत समाजवादीले साथ दिएमा पनि ऊसँग ३ हजार ३४२ मत भार मात्रै हुन्छ । जसले गर्दा गठबन्धनका उम्मेदवारको जित निश्चितजस्तै छ ।