काठमाडौँ । पाकिस्तानका पूर्व सेना प्रमुख तथा पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ ।
उनको मृत्युको पाकिस्तानी सेनाले पुष्टि गरेको छ । जनरल परवेज मुशर्रफको मृत्युले दुखी भएको भन्दै उनको आत्मा शान्तिको कामना गरेको छ । ७९ वर्षीय मुशर्रफ लामो समयदेखि बिरामी भएर दुबईको एक अस्पतालमा उपचाररत थिए ।
गत वर्ष उनलाई एमाइलोइडोसिस नामक जटिल रोग लागेको खबर आएको थियो । यो रोग लागेपछि क्रमश: मानिसको शरीरका अंगहरु निष्क्रिय हुन थाल्छन् । उनको जन्म ११ अगस्ट १९४३ मा अविभाजित भारतको पुरानो दिल्लीमा भएको थियो । भारत विभाजनपछि सन् १९४७ मा उनी पाकिस्तानको कराँचीमा परिवारसँगै बसे ।