काठमाडौं । बलात्कारकाे अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनुवाइ आज शुक्रबार हुँदैछ ।
एक बालिका बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले निवेदन दिएको थियो ।
गत मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै दिइएको निवेदनको पेशी आज तोकिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले जानकारी दिए ।
उच्च अदालतको आदेशपछि रिहा भएका सन्दीपलाई पुनः नेपाली क्रिकेट मैदानमा ल्याउने नेपाल क्रिकेट संघको निर्णय भएको पर्सिपल्ट अर्थात् आज शुक्रबार सर्वोच्चमा पहिलो सुनुवाइ हुन लागेको हो ।
बलात्कार अभियाेग लागेपछि नेपाल क्रिकेट संघ (क्यान)बाट निलम्बनमा परेका तत्कालीन कप्तान लामिछाने बिहीबार साँझदेखि बन्द प्रशिक्षणमा सहभागी भएका छन् । उनले बिहीबार नै कीर्तिपुर पुगेर अभ्यासमा सहभागिता जनाएका हुन् । क्यानको पोखरामा भएको बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।