काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । राष्ट्रपतिको निर्वाचन र गृहमन्त्रालयको विषयलाई लिएर सत्ता गठवन्धनमा खटपट आइरहेका बेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई प्रमुख नेताबीच छलफल भएको हो ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच वर्तमान राजनीतिक विषय तथा गृह मन्त्रालयको जिम्मेवारीका विषयमा केन्द्रित भएको बताइएको छ ।
छलफलमा राष्ट्रपति तथा उपराष्ट्रपतिकोे निर्वाचन बारेमा पनि दुई अध्यक्षबीच परामर्श भएको प्रधानमन्त्रीको सचिवालयका सदस्यले बताएका छन् ।
पूर्व गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी आफ्नै दलले पाउनु पर्ने माग गरेका छन् । एमाले अध्यक्ष ओली पनि पूर्वसहमति अनुसार नै अघि बढ्नु पर्ने बताइरहेका छन् । तर प्रधानमन्त्री दाहालले गृहमन्त्रालय आफ्नै दलले राख्ने मनसाय अनुसार अघि बढेका छन् । लामिछानेले मंगलबार प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीसँग अलग अलग छलफल गरेका थिए । सो मन्त्रालय आफ्नो दलले नपाए सत्ता साझेदार दलसँग अलग हुन सक्ने चेतावनी रास्वपाले दिएको छ ।
आजै बिहान प्रधानमन्त्री दाहालसँग राप्रपाका अध्यक्ष एवम् उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले पनि भेटवार्ता गरेका छन् ।
माओवादीले गृहमन्त्रालय आफैले राख्नु खोज्नु र राष्ट्रपतिमा राष्ट्रिय सहमतिको नाममा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने माओवादीको रणनीतिले सत्ता गठवन्धन धरापमा पर्ने स्थितिमा पुगेको छ । सत्ता स्वार्थमा दलहरु रुमलिँदा जनतामा निरासा पैसा भएको छ भने राजनीतिक अस्थिरता बढ्ने देखिएको छ । वर्तमान सत्ता गठवन्धन टुटेमा मुलुकले ठूलो घाटा व्यहार्नु पर्ने छ भने माओवादीले पनि ठुलै क्षति व्यहोर्नु पर्ने अवस्था आउने राजनीतिक विश्लेषकहरु बताउँछन् ।
नेपाली कांग्रेसले वर्तमान सरकार गठन अघि राष्ट्रपति पनि आफै र प्रधानमन्त्री पनि आफै हुन खोज्दा केन्द्रदेखि प्रदेशसम्म सत्ता बाहिर रहनु परेको छ भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदा प्रमुख प्रतिपक्षी दलको हैसियतका लागि पनि निवेदन दिनु पर्ने अवस्थामा पुगेको छ । माओवादीले पनि सत्तारुढ दलहरुबीच भएको सहमति अनुसार अघि नबढे ठुलो मूल्यचुकाउनु पर्ने अवस्था आउने राजनीतिक विश्लेषकहरुको टिप्पणी छ ।