काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय नपाए आजै सरकार छाड्ने र प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । सभापति रवि लामिछानेले आज विहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेर आफ्नो पार्टीको भागमा परेको उपप्रधान तथा गृहमन्त्री पाउनु पर्ने बताएका छन् ।
प्रधानमन्त्री दाहालले ठोस जवाफ नदिएर सल्लाह गर्छौं भनेपछि मंगलबार बेलुकीसम्मको समयसीमा दिएको रविको सचिवालयले जनाएको छ।
रविले बेलुकीसम्म निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको र गृह मन्त्रालय नदिए आजै बेलुकी पत्रकार सम्मेलन गरेर सरकारमा नरहेको घोषणा गर्ने र समर्थन पनि फिर्ता लिने तयारीमा रास्वपा रहेको स्रोतले बताएको छ ।
नागरिकता विवादमा गत शुक्रबार सर्वोच्च अदालतले आदेश दिएपछि रवि मन्त्री, सांसद र सभापति पदबाट बाहिरिएका थिए । लगत्तै आइतबार नागरिकता लिएका लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा फर्किसकेका छन् । गैरसांसद पनि ६ महिनाका लागि मन्त्री बन्न सक्ने भएकाले रविले पुनः गृहमन्त्री हुने खोजेका छन् । त्यसपछि उपनिर्वाचनबाट पुनः सांसद भएर मन्त्रीमा निरन्तर हुने उनको सोच छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि गृह मन्त्रालयमा पुनः रविलाई नै नियुक्त गर्नपर्ने बताएका थिए । तर प्रधानमन्त्री दाहाल गृहमन्त्री आफ्नै पार्टीमा राख्ने तयारी रहेकाले उनले पार्टीभित्रबाट गृह नछाड्ने दवाव दिन लगाएका छन् ।
प्रधानमन्त्री दाहालसँग सभापति लामिछानेले गरेका दुई भेटमा प्रगति नभएको पार्टी महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताएका छन् । लामिछाने आइतबार र मंगलबार बिहान प्रधानमन्त्रीलाई भेटेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री प्राप्त गर्ने निर्णय प्रधानमन्त्रीले गरेपछि मात्रै आफ्नो दलमा कसलाई पठाउने भनेर छलफल हुने प्रवक्ता ढकालले बताएका छन् ।
सभापति नै गृहमन्त्रीमा जाँदा केही घाटा र केही फाइदा रहेको बताउँदै ढकालले घाटा/फाइदा तौलेर र के गर्दा ठिक हुन्छ, क्याल्कुलेसन गरेर निर्णय गर्ने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल सरकार गठनको बेला हतारमा गृह मन्त्रालय रास्वपालाई दिनुपरेको भन्दै अब सत्ता साझेदार दलहरुसँग छलफल गरेर उपयुक्त निर्णय लिने बताएका छन् ।
रविको नागरिकता सम्वन्धी विवाद टुंगिए पनि राहदानी सम्वन्धी मुद्दा विचाराधिन रहेको बताइएको छ । अमेरिकी राहदानी हुँदाहुँदै उनले नेपाली राहदानी पनि लिएको र पुरानै नागरिकताबाट राहदानी लिएकाले उनी माथि फौजदारी अभियोग लाग्ने कानूनविद्हरुले बताइरहेका छन् ।