काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी २० लिग आयोजनाका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई विश्वास गरेर गल्ती गरेको स्वीकार गरेको छ ।
बिहीबार काठमाडौंको एक होटलमा आयोजित पत्रकार सम्मलेलनमा बोल्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले ‘कुनै पनि खराब ट्रयाक रेकर्ड नभएकाले विश्वास गरेको र त्यो विश्वास गर्नु गल्ती भएको’ बताए।
‘नेपाल टी २० लिगको आयोजनामा कहीँ कतै पनि निजी स्वार्थ छैन । नेपाल टी २० लिग राम्रो सुरुआत हुनसक्छ, नेपाली खेलाडीले देशमै खेलेर १५ लाखसम्म कमाउने र संस्थाले पनि आयआर्जन गरेर क्रिकेटको विकास गर्ने लक्ष्य/प्रयास थियो,’ उनले भने, ‘२०१४ मा नेपालको प्रतिष्ठित मिडियासँग फिफा विश्वकप २०१४ को लाइभको काम गरेको, सचिन तेन्दुल्करको सामाजिक सञ्जाल ह्यान्डिल गरेको प्रमाण दिएको थियो। नराम्रो रेकर्ड केही थिएन, त्यसैले विश्वास गर्यौं।’
लिग चलिरहँदा बीचमा नै सेभेन थ्री स्पोर्ट्सका प्रमुख जतिन आलुवालिया भारत जानु र क्रिकेटमा स्पट फिक्सिङ हुनु दुःखद भएको उनको भनाइ थियो।
पत्रकार सम्मेलन गर्न क्यान सीआईबी र राखेपको निर्णय पर्खिएर बसेको पनि अध्यक्ष चन्दले बताए । ‘सेभेन थ्रीले पनि केही कमजोरी गर्यो,’ उनले भने।
लिग चलिरहँदा प्रतियोगिता पूरा गर्न र प्रतियोगिता जोगाउन फिक्सिङ र स्पट फिक्सिङ नभएको किटान गर्दै विज्ञप्ति निकालेको पनि उनको स्पष्टोक्ति थियो।
विदेशी कम्पनीसँग सम्झौता ऐन विपरीत भएको भन्ने विषयमा जानकारी नभएर गल्ती भएको उनले बताए । अब सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता नियामक निकायको निर्णयअनुसार हुने उनले बताए ।