विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा तीव्र गतिमा रहेको टिपरको ठक्करबाट मंगलबार दिउँसो डेढ वर्षीया नाबालिकाको मृत्यु भएको छ।
भित्री सडकखण्ड भएर दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ख ६८२५ नम्बरको टिपरले सडकमा खेलिरहेकी नाबालिकालाई ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार टिपरले दिउँसो ४ बजेतिर ठक्कर दिँदा सुन्दरहरैँचा–१२ का अजित चौधरीकी १८ महिने छोरी अननिया चौधरीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक मोरङको केराबारी गाउँपालिका–१० का अन्दाजी ३५ वर्षीय राजकुमार लिम्बूलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानबाट चालकको लापरबाहीले दुर्घटना भएको खुलेको छ ।
स्थानीय बासिन्दाका अनुसार तीव्र गतिमा रहेको टिपरले सडकमा खेलिरहेकी नाबालिकालाई ठक्कर दिएको हो । चालकको लापरबाहीले दुर्घटना भएको बताउँदै स्थानीय, आफन्त र अभिभावकको मृतक बालिकाको शव उठाउन मानिरहेका छैनन् । सडकको बीचमा शव राखिएको छ ।
दुर्घटना गराउने चालकलाई घटनास्थलमै उपस्थित गराउनुपर्ने र कडा कारबाही हुनुपर्ने माग राख्दै शव उठाउन अस्वीकार गरिएको हो । घटनास्थलमा जम्मा भएको भीड र सडकको बीचमा राखिएको शवका कारण उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन हुन सकिरहेका छैनन् । माहोल भड्किन नदिनलाई घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
शव सडकमै छाडेर उनीहरूले टिपर आतंक बन्द, चालकलाई घटनास्थलमा ल्याउनुपर्ने, कडा कारबाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेर प्रदर्शन गरिरहेका छन् ।