काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको एक नेताले बताएका छन् । राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने बारेमा भने छलफल नभएको बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले सभामुख र उपसभामुखमा पनि उम्मेदवार उठाएको थियो ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्रीलाई दिइएको विश्वासको मत र राष्ट्रपति निर्वाचनलाई लिएर पार्टीभित्र कुनै किसिमको मतभेद नरहेको बताएका छन् ।
बैठकले राष्ट्रपति निर्वाचनलाई माघ २९ भन्दा उता नलैजान पनि भनेको छ । कानुनमा समस्या भए सुल्झाएर पनि माघ २९ भित्रै राष्ट्रपति चुनाव हुनुपर्ने महतले बताएका छन् ।
महतले आइतवार भएको डा. शेखर कोइराला समूहको भेलाको निष्कर्षलाई लिएर भ्रम फैल्याइएको पनि दाबी गरेका छन् ।
देउवा निवासको बैठकमा सहभागी डा. कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको निष्कर्ष निकालेको भनेर आएको समाचार सही नभएको बताएको महतको दावी छ ।



















