काठमाडौं । संसदमा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गत पुस २६ मा विश्वासको मत दिएसँगै उसलाई सत्तापक्ष मान्ने कि प्रतिपक्ष भन्नेमा अन्यौल छ।
कांग्रेसले विपक्षी दलको नेताले पाउने सेवा सुविधाबारे जानकारी माग्दै संघीय संसद सचिवालयलाई पत्र समेत लेखेको छ। पत्रमा कांग्रेसले आफूलाई प्रमुख विपक्षी दल भएको दाबी गरेको छ ।
कांग्रेस संसदीय दलको तर्फबाट संसदको महासचिवलाई सम्बोधन गर्दै एक साता अघि नै पत्र पठाइएको थियो । कांग्रेस संसदीय दलमा कार्यरत उपसचिव होमनाथ पहाडीले महासचिवलाई पत्र पठाएका हुन् ।
कांग्रेसको पत्रमा प्रमुख विपक्षी दलको नेता शेरबहादुर देउवा भएकाले विपक्षी दल र दलको नेताले पाउने सेवा सुविधा उपलब्ध गराइदिन माग गरिएको छ ।
संसद सचिवालयले नै राजनीतिक दलहरुलाई सिंहदरबार भित्र दलको कार्यालय र कर्मचारी उपलब्ध गराउँदै आएको छ।
यसैबीच नेपाल मजदुर किसान पार्टीले पनि प्रतिनिधि सभा बैठकमा आफ्नो दलले विपक्षी दलको नेता पाउनुपर्ने माग उठाएको छ ।
कांग्रेस संसदीय दलको निवेदनउपर निर्णयको विशेषाधिकार सभामुखमा निहीत रहेको संसद सचिवालय स्रोतले जनाएको छ ।
संसदको प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले पारिश्रमिकको साथमा विशेष भत्ता, बैठक भत्ता, सञ्चार, आवास, फर्निचर, सचिवालय, सुरक्षाकर्मी तथा केही कर्मचारी सुविधा प्राप्त गर्ने संघीय संसद्का पदाधिकारीको सुविधासम्बन्धी ऐनमा व्यवस्था छ । प्रतिनिधि सभामा एक निलम्बितसहित कांग्रेसका ८९ जना सांसद छन् ।
यसैबीच नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सभामुख देवराज घिमिरे समक्ष नै निवेदन पेश गरिसकेका छन् ।
नेमकिपाले आफूलाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्न माग गर्दै सभामुख समक्ष निवेदन दिएको छ। सांसद् सुवालले सरकारलाई समर्थन नगर्ने दल मध्ये पहिलो ठुलो दल भएको भन्दै प्रतिपक्षी दल तोक्न माग गर्दै शनिबारको संसद् बैठकमा सभामुख समक्ष निवेदन दिइसकेका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा पनि सुवालले संघीय कानुनबमोजिम प्रतिपक्षी दल तोकेर मात्र संसद चलाउनुपर्ने बताए ।




















