काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हत्यारा करार गरिएका एमाले सांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् ।
गृहमन्त्री लामिछानेले संसदमा आफूसँगै उपस्थित एमाले सांसद महतोलाई पक्राउ गर्नुको साटो गृहमन्त्री लामिछानेले प्रेस विज्ञप्ति निकाल्न लगाएर केटाकेटीपन प्रर्दशन गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
शनिबार प्रतिनिधिसभा बैठकको सुरुवातमै बोल्दै सांसद खतिवडाले अपराधीलाई पक्राउ गर्नुको साटो प्रेस विज्ञप्ती निकाल्दै जाने हो भने यसले मुलुकलाई कुन अवस्थामा पु-याउने हो भने पनि प्रश्न समेत गर्नु गरे । उनले के गृहमन्त्री लामिछानेलाई प्रहरीले टेर्न छोडेको हो भन्दै तत्काल त्यसको जवाफ समेत माग गरे ।
उनले गृहमन्त्री बालापनको, केटाकेटीपनको प्रर्दशन गरेकाे बताउँदै भने, ‘के देशको गृहमन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छोडेको हो ? मौखिक रुपमा सूचना दिँदा कोही अपराधीलाई पक्राउ नगर्ने परम्पराको सृजना भएको हो ? के अझै पनि जनतालाई फेरी ढाँट्नका लागि यो सूचना प्रकाशित गरिएको हो ? सुत्न गएका कर्मचारीलाई राति बोलाएर विज्ञप्ती निकालौ भनेर यस्तो परम्पराको सुरुवात भयो भने अपराधी पक्रिन सकिन्छ सभामुख महोदय ? यो परम्परा कहाँ जाँदैछ । भोली मुलुक कहाँ जाने हो ? हामीलाई चिन्ताको विषय बनेको छ सभामुख महोदय । म फेरी पनि अनुरोध गर्न चाहन्छु–आज हामीलाई चिन्ताको विषय गृह मन्त्रालयको मन्त्रीको आदेश प्रहरी प्रशासनले नटेर्ने । यदि गृह मन्त्रालय यसै गरी सूचना सार्वजनिक गर्ने हो भने प्रहरीलाई लेखेको सूचना सार्वजनिक गर्ने, सशष्त्रलाई लेखेको सूचना सार्वजनिक गर्ने, अन्य सूचना सार्वजनिक गर्ने हो भने गोप्यताको हक कहाँ रहने भयो सभामुख महोदय । यो वडा चिन्ताको विषय छ ।”
साथै खतिवडाले यसको बारेमा सदनमा जवाफ समेत मागे । खतिवडाले संसदलाई मुर्ख नबनाउन पनि अनुरोध गरे । उनले भने, ‘यो अपराध अनुसन्धान आचारसंहिताको विरुद्धमा भयो, सभामुख महोदय । यो अहिलेको पत्र । म फेरी पनि भन्छु–अपराध अनुसन्धान आचारसंहिताको विरुद्धमा पत्राचार गर्ने पद्धति आफूलाई फेरी मिडियामा एउटा हौवाको भरमा प्रस्तुत गर्ने काम मन्त्रीहरुले नगरुन । र, सस्तो लोकप्रियता नखोजुन् । यो संसदमा धेरै कुराहरुको छानवीनको जरुरी छ, सभामुख महोदय । कसैको नागरिकताको बारेमा छानवीन होला । कसैको पासपोर्टको बारेमा छानवीन होला । यो विषयमा गृहमन्त्रीको जवाफ चाहियो । जवाफका लागि रुलिङको आवश्यक्ता देख्छु, सभामुख महोदय । ’
सांसद खतिवडाले गृहमन्त्री लामिछानेको पासपोर्ट छानवीनको विषय पनि संसदलाई जानकारी गराउन रुलिङ गर्न आग्रह गरे । उनले गृहमन्त्री लामिछानेलाई सस्तो लोकप्रियताका लागि जनतालाई ढाँटने, छल्ने काम नगर्न पनि सचेत गराए ।




















