काठमाडौं । उपसभामुख चयनका लागि आज प्रतिनिधिसभाको बैठक बस्दै छ । प्रतिनिधिसभाको उपसभामुखको लागि आज (शनिबार) निर्वाचन हुने भएको छ ।
संघीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख चयनसम्बन्धी प्रक्रिया अघि बढ्नेछ । उक्त बैठकले उपसभामुख चयन गर्नेछ । प्रतिनिधिसभाको उपसभामुखका लागि दुईजनाले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा रानामगर र विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले मनोनयन दर्ता गरेका छन् ।
प्रतिनिधिसभाको उपसभामुख पदका लागि शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उम्मेदवारी दर्ता गराएकी हुन् । मगरको प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम रहेकी छिन् । यस्तै, नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी सांसद नारायणी शर्मा र राप्रपाका सांसद राजेन्द्र लिङ्देन समर्थक रहेका छन् ।
विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दिएकी छिन् ।
शुक्रबार संघीय संसद् भवन परिसरमा पुगेर यादवले उपसभामुखमा उम्मेदवारी दिएकी हुन् । यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला रहेका छन् । कांग्रेसले नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चालगायत दलहरूसँग छलफल गरी उपसभामुखमा उम्मेदवारी दिएको हो ।
प्रतिनिधिसभाको शनिबार बस्ने बैठकमा उपसभामुख चयनका लागि निर्वाचन (मत विभाजन) हुने कार्यतालिका छ ।
उपसभामुख चयनको लागि संसद्मा बहुमत अर्थात् १३८ मत आवश्यक पर्छ । रानामगरको पक्षमा एमालेका ७७, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २०, राप्रपा १४, जनता समाजवादी पार्टी (जसपा) १२, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । यस्तै, स्वतन्त्र तीन सांसदले पनि रानामगरलाई नै साथ दिने सम्भावना छ ।
कांग्रेसबाट उपसभामुखकी उम्मेदवार यादवको पक्षमा अहिलेसम्मको अवस्थामा बहुमत पुग्ने सम्भावना छैन । यादवको पक्षमा नेपाली कांग्रेसका ८८ एकीकृत समाजवादीका १० र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का चार सांसद मात्रै हुँदा सभामुखमा जस्तै पराजय हुने अवस्था छ । प्रतिनिधिसभामा उपसभामुख चयनको लागि निलम्बित २ जना र एकजना सभामुखबाहेक २७२ जनाले मतदान गर्नेछन् ।




















