काठमाडौं । नेपाली सेनाको आयोजनामा फोटो तथा युनिट विशेष प्रदर्शनी शुक्रबारबाट सुरु भएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आयोजित चार दिने फोटो तथा युनिट विशेष प्रदर्शनीको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका हुन । प्रदर्शनीमा नेपाली सेनाको गैरवमय इतिहास, जिम्मेवारी, हातहतियार, उपकारण, पोसाकलगायत विभिन्न विधा समेटिएको छ ।
सेनाको इतिहासदेखि वर्तमानसम्म एउटै थलोबाट सबैलाई जानकारी होस् भन्ने हेतुले प्रदर्शनी आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाः इतिहासदेखि वर्तमानसम्म थिम रहेको उक्त प्रदर्शनी मिति २०७९ माघ ०६ गतेदेखि ०९ गतेसम्म जंगी अड्डा परिसरमा संचालन हुने छ । नेपाली सेनाको गौरवमय इतिहास तथा वर्तमानमा नेपाली सेनाले गरेका उल्लेखनीय कार्यहरु, ऐतिहासिक हातहतियार तथा उपकरणहरु, सैनिक पोशाक, सैनिक व्याण्ड, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयहरु लगायतको विविध सामाग्री तथा फोटोहरु उक्त प्रदर्शनीमा समावेश गरिएको छ ।
आम नागरिकलाई नेपाली सेनाको विविध गतिविधिहरु नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रदर्शनीमा अवलोकनकर्ताहरुलाई सहज होस् भन्ने हेतुले नेपाली सेनाका विभिन्न गतिविधिहरुको छुट्टाछुट्टै स्टल बनाई जानकारी गराउने व्यवस्था मिलाईएको छ ।
प्रदर्शनीको समुद्घाटन कार्यक्रममा प्रधान सेनापति महारथी शर्माले नेपाली सेना फोटो प्रतियोगिता २०७९ का विजेताहरु (गैर सैनिक, सैनिक) लाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । समारोहमा नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु, इतिहासविद्, नेपाल स्थित विभिन्न राजदूतावासका सैनिक सहचारीहरु, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
यस्तै निर्देशनालयद्वारा २६०औँ सेना दिवसका अवसरमा आयोजना गरिएको फोटो प्रतियोगितामा गैरसैनिकतर्फ संजोग बुढाथोकी प्रथम भएका छन् । उनलाई रु ५० हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा वर्षा शाह दोस्रो र राजकरण महतो तेस्रो भएका छन् । उनीहरुले क्रमशः जनही रु ३५ हजार र २५ हजार प्राप्त गरेका छन् ।
प्रतियोगितामा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले रु १० राशिसहित सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
उक्त प्रतियोगितामा पुरस्कारका लागि १६ वटा तस्बिर छनोट भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।