विराटनगर । १८ दिने शिशुलाई जीवित अवस्थामै मृत घोषणा गर्ने चिकित्सकलाई निलम्बन गरिएको छ । कोसी अस्पताल प्रशासनले उनलाई सात दिन निलम्बन गरेको हो । उनीहरूले अस्पतालको आकस्मिक कक्षमा बुधबार उपचारका लागि ल्याइएकी मोरङको जहदा–३ भाथीगछकी शिशुलाई मृत घोषणा गरेका थिए।
निलम्बन हुनेमा पारामेडिकल अफिसर टीका अधिकारी, लक्ष्मण माझी र चिकित्सक आकाश यादव छन् । उनीहरूलाई २४ घण्टे स्पष्टीकरण माग गर्दै निलम्बन गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवले बताए ।
उनले निलम्बनमा परेका स्वास्थ्यकर्मीहरूलाई आगामी ७ दिनसम्म अस्पतालबाट सेवा प्रवाह गर्न रोक लगाइएको जानकारी दिए । निलम्बनमा परेका स्वास्थ्यकर्मीहरूमाथि छानबिन गर्न अस्पतालले बिहीबार छानबिन समितिसमेत गठन गरेको छ । अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीण झाको नेतृत्वमा ३ सदस्य छानबिन समिति गठन गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार समितिमा बाल रोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र रामप्रसाद नेपाल सदस्य छन् । समितिले घटनाको छानबिन गरी अन्तिम प्रतिवेदन नबुझाएसम्म स्वास्थ्यकर्मीहरूको निलम्बन फुकुवा नगरिने अस्पतालका निमित्त मेसु डा. लक्ष्मीनारायण यादवले बताए ।
बुधबार बिहान करिब ९ बजे मोरङको जहदा–३ की १८ दिने नवजात शिशुलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । पिता दिलीप मुखिया र आमा उमा मुखियाले शिशुलाई उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल ल्याएका थिए । डाक्टर आकाश यादव नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले शिशुको उपचार सुरु गरेका थिए । तर, सही उपचार नै नगरी डा. यादवले जिवित शिशुलाई मृत घोषणा गरिदिएका थिए ।