काठमाडौँ । नेकपा एमाले बिहीबारदेखि केन्द्रीय स्कुल विभागले कार्यकर्ता प्रशिक्षणका लागि पार्टी स्कुलको तेस्रो शृङ्खलाको सुरुवात गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सञ्चालन गरिएको तीनदिने स्कुलमा यसपटक अखिल नेपाल महिला सङ्घमा आबद्ध नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ ।

बिहीबारदेखि सुरु भएको पार्टी स्कुलको पहिलो दिन पार्टीका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले प्रशिक्षणको उद्देश्यबारे सहभागीहरुलाई बिफ्रिङ गरेका थिए ।
त्यसैगरी एमाले स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले ‘कूटनीतिक सम्बन्ध र भूराजनीति’, स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले ‘पार्टी र जनसंगठनबीचको अन्तरसम्बन्ध’ र पोलिटब्युरो सदस्य तथा स्कुल विभागका उपप्रमुख ईश्वरी रिजालले ‘मार्क्सवादी दर्शन र सामाजिक रूपान्तरण’ का विषयमा सहभागीहरुलाई प्रशिक्षित गराएका थिए ।

स्कुल विभागको निर्धारित कार्यतालिका अनुसार, आज शुक्रबार दोस्रो दिन महासचिव शङ्कर पोखरेलले ‘मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद’ का विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ भने स्थायी कमिटी सदस्य तथा अनेमसंघ इन्चार्ज सीता पौडेलले ‘अनेमसंघ र आगामी कार्यदिशा’, केन्द्रीय सदस्य तथा प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले ‘सूचना, सञ्चार र प्रविधि’ विषय र रामशरण प्याकुरेलले ‘सङ्गठन निर्माण, परिचालन र व्यवस्थापन’ शीर्षकमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

यसैगरी प्रशिक्षणको तेस्रो अर्थात अन्तिम दिन शनिबार उपमहासचिव प्रदीप ज्ञवालीले ‘महाधिवेशनको सिद्धान्त, कार्यक्रम र कार्यदिशा’, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमालले ‘निर्वाचन २०७९ को समीक्षा र आगामी कार्यदिशा’ विषयमा सहभागीहरुलाई प्रशिक्षण दिनेछन् ।

त्यसैगरी लेखा आयोगका सदस्य भीम पौडेलले ‘सङ्गठनमा लेखा व्यवस्थापन’ विषयमा प्रशिक्षण दिने कार्यक्रम निर्धारण गरिएको स्कुल विभागले जानकारी दिएको छ ।

प्रशिक्षण कति उपयोगी हुन सक्यो, प्रभावकारिता के रह्यो, सहभागीहरूको विषयप्रतिको बुझाइ कस्तो रह्यो भन्ने जानकारी लिन प्रशिक्षणको अन्त्यमा जाँच लिने कार्यक्रम पनि रहेको छ ।

अन्त्यमा स्कुल विभागका प्रमुख ज्ञवालीले त्यसको परिणाम प्रकाशन र सहभागीहरूका थप जिज्ञासाको उत्तर दिने गरी कार्यक्रम रहेको छ । यसपटकको प्रशिक्षणमा ३५ जनाको सहभागिता रहेको केन्द्रीय सदस्य एवम् विभागका सचिव पेम्वा लामाले बताए ।

विभागले आफ्नो वार्षिक कार्यतालिकाबमोजिम गत भदौ महिनामा अखिल नेपाल किसान महासङ्घ र युवा सङ्घ नेपालका लागि यस्तो प्रशिक्षण सम्पन्न गरेको जनाएको छ ।




















