काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा सत्ता साझेदार दलका तर्फबाट उम्मेदवार बनेका नेकपा (एमाले)का सांसद देवराज घिमिरे निर्वाचिन भएका छन् । आज संसदमा भएको निर्वाचनबाट घिमिरे सभामुखमा निर्वाचित भएका हुन । २६८ मत खसेकोमा घिमिरेको पक्षमा १६७ मत परेको छ । उनीसँग प्रतिस्पर्धा गरेकी विपक्षी दलहरुको गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत प्राप्त गरेकी छिन् ।
२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा सभामुख जित्न १ सय ३८ मत आवश्यक थियो ।
वि.सं २०१३ मा ताप्लेजुङमा जन्मिएका घिमिरे (बाबु पदमप्रसाद घिमिरे, आमा भिमकुमारी घिमिरे) हाल विर्तामोड नगरपालिकामा बसोवास गर्दै आएका छन् । स्नातकसम्म अध्ययन गरेका घिमिरे गत मंसिर ४ गते भएको निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा झापा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन । २०५६ देखि २०६० सालसम्म राष्ट्रियसभा सांसद थिए । उनीले विद्यार्थी सङ्गठनबाट राजनीति शुरु गरेका हुन । विसं २०४९ मा एमालेको केन्द्रीय सदस्य भएका थिए । घिमिरेले एमालेको स्वास्थ्य विभागको अध्यक्ष भएर काम गरेका छन् । हाल उनी एमालेको स्थायी समिति सदस्य हुन् ।
२०२७ देखि २०३० सालसम्म चलेको झापा विद्रोहपछि अपिल प्रसारणको लाइनबाट घिमिरे नेपाल कम्युनिष्ट पार्टीको सम्पर्कमा आएका हुन् । त्यसपछि २०३२ मा कोअर्डिनेसन केन्द्रको विद्यार्थी संगठनमा आबद्ध भए । २०४७ सालमा नेकपा माले र नेकपा मार्क्सवादी एकीकरण भइ नेकपा एमाले बनेपछि २०४९ सालमा सम्पन्न नेकपा एमालेको पाँचौ राष्ट्रिय महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा चुनिएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश १ को इन्चार्ज रहेका घिमिरे पार्टीको विभिन्न कमिटी तथा विभागको इन्चार्जको जिम्मेवारीमा थिए । १२ वर्ष भूमिगत राजनीति गरेका उनी पटकपटक हिरासतमा बसेका थिए ।
सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्नेछ । नेपाली जनताको सर्वभौमसत्ता सम्पन्न सर्वोच्च थलोका रुपमा प्रतिनिधिसभा रहिआएको छ ।




















