काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हवाई क्षेत्रलाई सुरक्षित र व्यवस्थीत बनाउन आवश्यक कार्ययोजना बनाइने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री किराँतीले हवाई सुरक्षाप्रति सरकार गम्भीर रहेको भन्दै हवाई क्षेत्रलाई सुरक्षित र व्यवस्थीत बनाउन आगामी दिनमा आवश्यक कार्ययोजना बनाइने बताएका छन् । उनले हवाई सुरक्षालाई उच्च प्राथमिकता दिन र दुर्घटना दोहरिन नदिनका लागि पद बहालीपश्चात नागरिक उड्ययन प्राधिकरणलाई आवश्यक निर्देशन दिएको बताएका छन् ।
मन्त्री किराँतीले यती एयरलाईन्सको दुर्घटनापश्चात तीव्र रुपमा उद्धारका काम भएको र आफन्तजनलाई आवश्यक सूचना दिने काम भएको बताएका छन् । उनले दुर्घटनामा ज्यान गुमाएकाहरुको पोखरा मेडिकल कलेज र शिक्षण अस्पतालमा पोष्टमार्टम भइरहेको र शव बुझाउने क्रम जारी रहेको जानकारी दिएका छन् । दुर्घटनापश्चात जाँच गर्न मन्त्रिपरिषद्को निर्णय अनुसार छानविन समिति गठन भएको र समितिलाई स्वतन्त्रपूर्वक काम गर्न सहयोग गर्ने उनले बताए ।
त्यसअघि बैठकमा कांग्रेस मुख्य सचेतक रमेश लेखकले दुर्घटनाका बिषयमा जानकारी गराउन माग गरेका थिए । उनले संसदको कार्यसूचीलाई स्थगन वा सारेर यस बिषयमा सिंगो मुलुक र अन्तराष्ट्रिय जगतलाई जानकारी गराउनुपर्ने बताए । सरकार जनताको पीर मर्का र समस्या प्रति उदाशिन हुन नसक्ने उनको भनाइ छ ।
उनले दुर्घटनमा ज्यान गुमाएकाहरुप्रति समवेदना व्यक्त गर्दै शव बुझाउनका लागि ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले दुर्घटनाले पर्यटन क्षेत्रमा पनि नराम्ररी असर पारेको बताए ।