काठमाडौं । संघीय सदनअन्तर्गत प्रतिनिधिसभाले आज नयाँ सभामुख पाउने भएको छ ।
गत मंसिरमा सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभाले आज सभामुख पाउन लागेको हो । सभामुखको निर्वाचन बिहान ११ बजे हुने कार्यतालिका रहेको छ । जसअन्तर्गत बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने तथा उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत हुने कार्यक्रम रहेको छ ।
यसअघि बुधबार प्रतिनिधिसभा सभामुखका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले) का देवराज घिमिरे र विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् ।
विपक्षी गठबन्धनमा कांग्रेससहित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी रहेका छन् भने सत्ता गठबन्धनबाट उम्मेदवारी दर्ता गराएका घिमिरेको नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ प्रस्तावक र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देन समर्थक रहेका छन् । घिमिरे पहिलोपटक झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनी २०५६ सालमै राष्ट्रियसभाको सांसद भएका थिए ।
उता कांग्रेसका तर्फबाट उम्मेदवारी दिएकी ईश्वरीदेवी न्यौपानेको प्रस्तावक नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा र नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला समर्थक छन् । उनी समानुपातिकबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।
संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गरिने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्ने प्रावधान छ । प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ पुसमा बसेको थियो । हाल प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सभाको अध्यक्षता गरिरहेका छन् ।
सभामुखका दुवै उम्मेदवारले जित्ने दाबी गरे पनि २७५ जना सांसद रहेको संसद्मा सत्ता गठबन्धनका उम्मेदवार घिमिरे नै अगाडि रहेका छन् र उनी नै सभामुख बन्ने सम्भावना प्रवल देखिन्छ । घिमिरेको पक्षमा एमालेको ७९, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४ मत छ । उनलाई जित सुनिश्चित गर्न १३८ मत आवश्यक पर्छ । एमाले, माओवादी, रास्वपा र राप्रपाको जोड्दा नै १४४ मत हुन्छ ।
यस्तै, विपक्षी गठबन्धनबाट उम्मेदवार बनेकी न्यौपानेलाई कांग्रेससहित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदको समर्थन छ । कांग्रेसको ८९, नेकपा एसको १०, लोसपाको चार सिट छ । कांग्रेसका एक सांसद निलम्बित छन् । तीन दलका १०२ सांसद मात्रै हुन्छन् ।
यसरी हेर्दा सत्ता गठबन्धनका उम्मेद्वार देवराज घिमिरे नै प्रतिनिधिसभाको सभामुख बन्ने निश्चित भएको छ ।




















