काठमाडौं । नेकपा एमालेका सांसद एवं नेकपा एमालेबाट सभामुखका उम्मेदवार देवराज घिमिरेले सभामुखमा आफ्नो जित निश्चित रहेको बताएका छन् ।
बुधवार संसद सचिवालय नयाँ बानेश्वरमा प्रतिनिधिसभाका लागि सभामुखको उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए । उनले विगतमा भएका कमजोरीबाट सिकेर आगामी दिनमा सभामुखको भुमिका निभाउने बताए ।
उनले आफू निर्वाचित भइसकेपछि सांसदहरुलाई सहमतिका साथ अघि बढाउने बताए । उनले सभामुख कुनै एक दलबाट नभई सिंगो प्रतिनिधि सभाबाट चुनिएर जाने भएकाले सभामुखले खेल्ने भुमिकामा कमी नदिने गरी कार्य सम्पादन गर्ने बताए ।
सत्तारुढ दलहरुको साझा उम्मेदवार रहेका उनलाई एमाले उपाध्यक्ष एवम पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सभामुख पदका लागि प्रस्ताव गरेका छन् भने नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डे, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले समर्थन गरेका छन् । प्रतिनिधिसभामा सभामुखको निर्वाचन माग ५ गते (भोलि) हुँदैछ । एमाले स्थायी कमिटी सदस्य घिमिरे पहिलो पटक झापा क्षेत्र नम्बर २ का प्रतिनिधि सभामा निर्वाचित भएका थिए । हाल एमाले प्रदेश १ को पार्टी इन्चार्जको भुमिकामा रहेका उनी २०५६ सालमै राष्ट्रिय सभाको सांसद भएका थिए ।




















