काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आहृवानमा आज (मंगलबार) सर्वदलीय बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका १० राजनीतिक दलको बैठक बस्न लागेको हो । आफूलाई विश्वासको मत दिने दलबीच राष्ट्रपति र सभामुख निर्वाचनको विषयमा छलफल गरेर जाने भन्दै प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक आहृवान गरेका हुन् ।
प्रतिनिधिसभामा माघ ५ गते सभामुखको निर्वाचन हुँदै छ । माघ ७ गते उपसभामुखको निर्वाचन गर्ने तयारी छ । माघ २८ गतेसम्म राष्ट्रपतिको पनि निर्वाचन गरिसक्नुपर्नेछ । राजकीय पदहरूको चयनका लागि अब हुने निर्वाचनमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक राखेका हुन् ।
राष्ट्रपति/उपराष्ट्रपति र सभामुख-उपसभामुख चयन लगायतका विषयमा राष्ट्रिय सहमति जुटाउन सर्वदलीय बैठकमा छलफल गर्ने यसअघि नै बताइसकेका प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार करिब पाँच घण्टा छलफल गरेपछि बैठक बोलाउने निर्णय भएको हो ।
ओली निवास बालकोटबाट बाहिरिँदै प्रधानमन्त्री प्रचण्डले सभामुख/उपसभामुखमा कांग्रेसलगायत दलसँग सहमति गर्ने विषयमा बैठक बोलाइएको जानकारी दिए । उनले विश्वासको मत दिने सबै पार्टीका नेताहरूसँग छलफल भइरहेको र कांग्रेससँग पनि छलफल हुने बताए ।
पुस १० गते प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सातवटा राजनीतिक दल र स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डलाई पुस २६ गते विश्वासको मत लिँदा कांग्रेस र नेकपा एकीकृत समाजवादी दल थपिएर २६८ मत प्राप्त भएको थियो । प्रमुख प्रतिपक्षी दल हुने अपेक्षा गरिएको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि विश्वासको मत दिएपछि प्रधानमन्त्री प्रचण्ड कांग्रेसलाई पनि पदीय भागबण्डा मिलाउन लागेका छन् । यता विपक्षमा बस्ने अपेक्षाविपरीत कांग्रेसले समेत प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि एमाले सशंकित बन्नेको छ । कांग्रेसको त्यही विश्वासको मतले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच अविश्वासको वातावरण बन्ने देखिन्छ । राष्ट्रपति र सभामुख निर्वाचनका सन्दर्भमा कांग्रेससँग पनि सहमति गर्ने भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि एमालेले शंका गरेको छ ।




















