पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका २२, माओवादी केन्द्रका ७ र राप्रपाका २ गरी ३१ जना सांसदले खगराजको पक्षमा मत दिएका छन् भने नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरे ।
स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) भने प्रदेशसभा बैठकमा अनुपस्थित भए । मनाङेले मन्त्री नबन्ने संकेत पाएपछि बिहीबार खगराजलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने बताएका थिए । एमाले संगठन विभाग प्रमुख खगराजलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २५ पुसमा मुख्यमन्त्री नियुक्त गरेका थिए ।
विश्वासको मत पाएसँगै मुख्यमन्त्री अधिकारीले आफूलाई मत दिनेहरुलाई आभार व्यक्त गरेका छन् । केही बेरअघि आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मुख्यमन्त्री अधिकारीले भनेका छन्, ‘गन्डकी प्रदेशको मुख्यमन्त्रीमा बिश्वासको मत दिनुहुने माननीयज्युहरुलाइ हार्दिक आभार व्यक्त गर्दछु । समृद्ध गण्डकी प्रदेश बनाउन हामी सबैको हातेमालो हुनेछ ।’




















