काठमाडौं । विराटनगर सुपर किङ्ग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनी अल स्टार्सले नेपाल टी २० लिगको पहिलो संस्करणको उपाधि जितेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको लुम्बिनीले १९.२ मा सबै विकेट गुमाएर एक सय ३३ रनको योगफल तयार गरेको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले आठ विकेट गुमाएर एक सय ९ रन मात्रै बनाउन सक्यो ।
लिग चरणबाट शीर्ष स्थानमा रहँदै प्ले अफमा आइपुगेको लुम्बिनीले पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । तेस्रो स्थान हासिल गरेको विराटनगरले इलिमिनेटरमा काठमाडौं नाइट्स र दोस्रो क्वालिफायरमा जनकपुरलाई हराएको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) र भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको आयोजनामा जारी प्रतियोगिताको विजेता लुम्बिनीले ५५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै, उपविजेता विराटनगरले ३० लाख तथा तेस्रो जनकपुरले १० लाख प्राप्त गर्नेछन्। चौथो काठमाडौंले पाँच लाख पाउने छ।
सर्वोत्कृष्ट खेलाडीले पाँच लाख, विधागत उत्कृष्टले दुई लाख ५० हजार र इमिर्जिङ खेलाडीले एक लाख ८० हजार प्राप्त गर्नेछन् ।