काठमाडौं । आज ३०१औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
आधुनिक नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । हरेक वर्ष पुस २७ मा उनको योगदानको स्मरण गरेर यो दिवस मनाउने गरिन्छ ।
यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकोमा पछिल्लो समय कटौती गरिएकामा पुनः यो वर्षदेखि बिदा दिइएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बुधबार पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको हो । विगतका वर्षमा पृथ्वी जयन्ती राष्ट्रिय रूपमा सार्वजनिक बिदा नदिएको भए पनि गोरखालगायत केही स्थानीय तहले सार्वजनिक बिदा दिएका थिए । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको स्मरणमा सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेपछि त्यसको विभिन्न क्षेत्रबाट स्वागत भएको छ ।




















