काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गरेसँगै अब मन्त्रिपरिषद्ले पूर्णता पाउने छ । सत्ता गठवन्धनले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति अनुसार प्रधानमन्त्री दाहालसँगै तीन जना उपप्रधानमन्त्री र चार जना मन्त्रीले सपथ लिएका थिए ।
उपप्रधानमन्त्रीहरु विष्णु पौडेललाई अर्थमन्त्री, नारायणकाजी श्रेष्ठलाई भौतिक मन्त्री र रवि लामछानेलाई गृहमन्त्रीको जिम्मेवारी दिइए पनि अन्य मन्त्रीहरुलाई जिम्मेवारी तोकिएको छैन । आज प्रधानमन्त्री दाहालले विश्वासको मत पाएसँगै अब कोको मन्त्री हुन्छन् भन्ने जिज्ञासा आम रुपमा उठेको छ ।
यसअघि मन्त्री भएका एमालेका ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र जनमत पार्टीका अब्दुल खानलाई जिम्मेवारी तोक्ने र नयाँ मन्त्रीहरु नियुक्त गरेर मन्त्रिपरिषद्लाई चाडै पूर्णता दिने सत्ता गठवन्धनका नेताहरुले बताएका छन् ।
नेकपा एमालेले राष्ट्रपति र सभामुख पाउने सहमति सत्ता गठवन्धनमा भएको छ । अब एमालेले कसलाई राष्ट्रपति, सभामुख र मन्त्रीहरु बनाउँला भन्ने जिज्ञासा छ भने एमालेका सांसदहरु ती पदको आकांक्षा राखेर लविङ पनि गरिरहेका छन् ।
एमाले स्रोतका अनुसार राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, डोरमणि पौडेललगायत मध्येबाट हुन सक्ने छन् भने सभामुखमा पृथ्वीसुव्वा गुरुङ, छविलाल विश्वकर्मा, देवराज घिमिरे र रघुवीर महासेठको चर्चा छ । उनीहरु मध्ये एक जना सभामुख हुने र सभामुख नपाउनेहरु मन्त्री हुने प्रवल सम्भावना छ ।
त्यस्तै मन्त्रीहरुमा एलपी साँवा लिम्वू, ऋषिकेश पोखरेल, भगवती चौधरी, पदम गिरी, विद्या भट्टराई, अच्युत मैनालीको सम्भावना प्रवल छ ।



















