काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंका भइरहेका सेवा प्रवाहको अवस्थाका बारेमा जानकारी लिएका छन् ।
बिहीबार काठमाडौं प्रशासन कार्यालय पुगेर लामिछानेले बिभिन्न सेवामा सुरु गरिएको टाइम कार्डको कार्यान्वयनको अवस्था र अन्य सेवा प्रवाहका बारेमा जानकारी लिएका छन् । सो क्रममा उपप्रधान एवं गृहमन्त्री लामिछानेले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिएका छन् ।
उनले प्रशासन कार्यालयले सहज रुपमा सेवा दिनका लागि मन्त्रालयबाट आवश्यक सहयोग हुने समेत गृहमन्त्रीबाट प्रतिवद्धता आएको बताएका छन् । प्रमुख जिल्ला अधिकारी उपाध्यायले प्रशासनबाट हुने सेवालाई समयवद्ध गर्दैै नागरिकलाई सहज बनाउन १० वटा सेवामा टाइम कार्ड लागू गरिएको जानकारी दिएका छन् ।
प्रशासन कार्यालयले नागरिकता प्रमाणपत्र र नाबालक परिचयपत्र १ घण्टाभित्र, संस्था नवीकरण ३० मिनेटभित्र, राहदानी वितरण १५ मिनेटभित्र, राष्ट्रिय परिचयपत्र कार्ड वितरण ३० मिनेटभित्र, प्रशासनबाट हुने सिफारिसपत्र १ घण्टाभित्र, मुद्दाको पेशी र तारेख ३० मिनेटभित्र उपलव्ध हुने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताएका छन् ।




















