काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना अघि सारेपछि स्थानीयले विरोध जनाउँदै आएका छन् । टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबाबमूलक अभियान चलाइरहेका स्थानीयवासी र संरक्षण अभियन्ताहरु आज काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन र घेराउ गरेका छन् ।
सम्पदाप्रेमीहरुले नागरिकस्तरबाट ‘अकुपाई टुँडिखेल’ अभियान चलाउँदै आएका छन् । सोही अभियान अन्तर्गत आज बिहान महानगरपालिका कार्यालय अगाडि मानव साङ्लो बनाएर प्रदर्शन गरिएको हो ।
विश्व स्वतन्त्रता दिवसको अवसर पारेर आज स्थानीयले प्रदर्शन गरेका हुन ।
स्थानीयहरूले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन) भेटेर ज्ञापनपत्र बुझाउन खोजेका थिए । तर मेयरले भेट नदिएपछि उनीहरुले उपमेयर सुनिता डंगोललाई ज्ञापनपत्र बुझाएका छन् ।
महानगरपालिकाले भित्री शहरका जनताले सास फेर्न, कुलपूजा र भोज तथा आम जनताले राजनीतिक कार्यक्रम गर्न जनताले नै जोगाएको खुलामञ्चको अस्तित्वलाई नै जोखिममा पारेपछि स्थानीयले आन्दोलन गरेका हुन ।
महानगरले गुपचुप रूपमा योजना अगाडि बढाएपछि शहरी यातायात विज्ञहरूले यसबारे स्पष्टीकरण मागेका छन् । तर, मेयर साहले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
भूमिगत पार्किङ बनाउने योजना स्थगनको माग गर्दै ज्ञापानपत्र बुझाउन पुगेका स्थानीयबासी र संरक्षण अभियान्तालाई मेयरले भेट्न अस्वीकार गरेपछि स्थानीय थप सशंकित र आक्रोशित बनेका छन् ।
मेयरको सचिवालयले मेयरलाई माघको पहिलो हप्तासम्म फुर्सद नभएको जवाफ दिएको अकुपाई टुँडिखेलका प्रवक्ता सन्जय अधिकारीले बताएका छन् ।
साह नआएपछि उपमेयर डंगोल र प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले ज्ञापनपत्र बुझेका छन् । ज्ञापनपत्र बुझ्दै उपमेयर डंगोलले सार्वजनिक जग्गा सरक्षण गर्नुपर्ने कुरामा दुई मत नरहेको बताएकी छिन् ।
‘पहिलो प्राथमिकता भनेको आवश्यकता हो कि होइन, भन्ने हो । वरिपरि भएका पार्किङले सम्बोधन गर्छ भने नयाँ सरचना बनाउनै पर्दैन,’ उनले भनिन्,’लोकतान्त्रिक पद्धति सबैभन्दा माथि जनता हो । जनतासँग परामर्शविना कुनै काम महानगरले केही गर्दैन ।’
ज्ञापनपत्र दिन पुगेका पूर्वमन्त्री तथा कांग्रेस नेता भिमसेन प्रधानले टुडिँखेल र खुल्ला मञ्च भूमिगत पानीको ‘रिजार्ज सेन्टर’ भएकोले मास्न नहुने बताएका छन् ।