काठमाडौँ । रुसले बिहीवार बिहान युक्रेनको राजधानी किएभ सहित अन्य प्रमुख शहरहरूमा १०० भन्दा बढी क्षेप्यास्त्र आक्रमण गरेको छ ।
किएभ, खार्किभ तथा लभिभ शहरका मेयरहरूले रुसी क्षेप्यास्त्रका कारण शृंखलाबद्ध विस्फोट भएको बताए । झिटोमिर, ओडेसा र नीप्रोपेत्रोव्स्क शहरमा पनि विस्फोटका आवाज सुनिएका थिए ।
युक्रेनले पेश गरेको शान्ति प्रस्तावलाई रुस सरकारले अस्वीकार गरेपछि भयानक आक्रमण गरिएको हो । रुसले नियन्त्रणमा लिएका युक्रेनका चार क्षेत्रलाई युक्रेन सरकारले मान्यता दिनुपर्ने भनी रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभ र सरकारका प्रवक्ता दिमित्री पेस्कोभले जोड दिएका छन् ।
किएभमा आज गरिएका आक्रमणले दोस्रो विश्वयुद्धका दृश्यहरूको स्मरण गराएको थियो । हजारौं मानिस मेट्रो ट्रेनका सुरुङहरूमा लुक्न गएका थिए ।
रुसले बुधवार राति कामिकाजे ड्रोनहरूले आक्रमण गरेपछि आकाश र सागरबाट क्रुज क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी वायुसेनाले जनाएको छ ।
खार्किभका मेयर इहोर तेरेखोभले केमा प्रहार भएको र कतिजना हताहत भएको विषयमा जानकारी लिइरहेको बताए । किएभका मेयर भिताली क्लित्स्कोले विद्युत् आपूर्ति ठप्प हुन सक्ने चेतावनी दिँदै स्थानीय बासिन्दाहरूलाई फोन चार्ज गरिराख्न भनेका छन् ।
ओडेसा र नीप्रोपेत्रोव्स्क क्षेत्रमा विद्युत् आपूर्ति काटिएको घोषणा गरिएको छ । ऊर्जा संरचनामा सम्भावित क्षतिलाई न्यूनीकरण गर्न विद्युत् आपूर्ति काटिएको हो । (एजेन्सी)