काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक असर कायमै रहेकाले तापक्रम घट्ने र उच्च पहाडी भूभागमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तापक्रम घट्नेक्रम अझै निरन्तर रहने हुनाले चिसोसँग बच्न सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।
विभागका अनुसार २४ घण्टामा प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भूभागमा सामान्यतः मौसम सफा रहने छ । आज बिहीबार प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ । त्यस्तै, तराईका जिल्लामा बाक्लो हुस्सु कुहिरो लागी जनजिवन प्रभावित हुनेछ ।
सोहीअनुसार भोलि शुक्रबार पनि देशका पहाडी भूभागमा सामान्य बदली रहने छ । एक दुई ठाउँमा हल्का वर्षा पनि हुनसक्ने अनुमान विभागको छ । उच्च पहाडी क्षेत्रमा हिमपात हुनेछ । त्यस्तै, पुस १६ गते शनिबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ । दिउँसो पहाडी क्षेत्रको एक दुई स्थानमा हल्का वर्षा हुनेछ । हिमाली क्षेत्रमा हिमपात हुनेछ । हिमपात, वर्षा र तराईमा लाग्ने हुस्सुका कारण चिसो बढ्ने हुनाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।