काठमाडौं । हुसेन तलतको अविजित अर्धशतकप्रेरित विराटनगर सुपर किङ्ग्सले नेपाल टी २० लिगमा बुधबार पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पोखराले सात विकेटको क्षतिमा एक सय ३९ रनको लक्ष्य तयार गरेको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले १७.५ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो । विराटनगरका लागि ३० बलको सामना गरेका तलतले अविजित ५० रनको महत्त्वपूर्ण इनिङ खेले ।
यस्तै, ओपनर एन्ड्रे मकार्थी र अर्जुन साउद क्रमशः २१ र २५ रन बनाएर पेभेलियन फर्केका थिए । विवेक यादव १४ रनमा अविजति रहे ।
पोखराका लागि कप्तान शरद भेसावकर र कुशल मल्लले दुई-दुई विकेट लिए ।
पहिलो इनिङमा पोखराका लागि कुशलले १८ बलमा ३७ रनको आक्रामक इनिङ खेलेका थिए । सिद्धान्त लोहनीले १९ बलमा २६ रन जोड्नुबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन्।
बलिङतर्फ विराटनगरका लागि हुसेन तलत राज नननले जनही दुई विकेट लिँदा अन्य तीन बलरले तीन ब्याटरलाई पेभेलियन फर्केका थिए ।
जारी फ्रेन्चाइज लिगमा विराटनगरको पहिलो जित हो । पोखरा भने सुरुआती चार खेलमा जितविहीन छ ।