काठमाडौं । नेपाल टी-ट्वान्टी लिगमा काठमाडौं नाइट्स र लुम्बिनी अल स्टार्सले विजयी सुरुवात गरेका छन् ।
शनिबार त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा काठमाडौंले पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गरेको हो । काठमाडौंले दिएको १६३ रनको लक्ष्य पाएको पोखरा निर्धारित ओभरमा सात विकेट गुमाएर १३६ रनमात्रै बनाउन सक्यो ।
अर्को खेलमा लुम्बिनी अल स्टारले फार वेस्टर्न युनाइटेडलाई ६७ रनले पराजित गर्यो । लुम्बिनीले दिएको १५३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको फार वेस्टर्नले १६ ओभर दुई बलमा अलआउट हुँदै ८५ रनमात्र बनाउन सक्यो ।
पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख पाउने आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । तेस्रो हुनेले १० लाख र चौथोले पाँच लाख पाउने क्यानले जनाएको छ । त्यस्तै, प्लेयर अफ द सिरिजले पाँच लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले दुई लाख ५० हजार पाउनेछन् । इमर्जिङ प्लेयरले एक लाख ८० हजार पाउने क्यानले जनाएको छ ।