बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारीमा रहेकै बेला पक्राउ परेका हुन ।
सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै केसीको निवासमा पुगेको टोलीले खानतलासी गर्दा ३५ तोला सुन र २५ लाख रुपैयाँको चेकसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।
केसीमाथि गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको र व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप लागेको थियो ।
व्यापारीले २५ लाख रुपैयाँको चेक बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको स्रोतको दाबी छ । तर केसीले भने आफूलाई बदनाम गराउन खोजिएको दाबी गरेका छन् ।
केसीले साउनमा तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका बीचमा विवाद बढ्दै जाँदा वडाध्यक्षलाई लात्ताले हानेर स्वीमिङ पुलमा खसालिदिएका थिए ।