काठमाडौं । नेपाल टी–ट्वान्टी लिग अन्तर्गत आइतबार भएको खेलमा लुम्बिनी अल स्टार विजयी भएको छ ।
टियु क्रिकेट मैदानमा लुम्बिनीले बिराटनगर सुपर किंग्स्लाई ३ रनले पराजित गरेको हो । लुम्बिनीले दिएको १ सय ५८ रनको लक्ष्य पाएको बिराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन मात्र बनायो । बिराटनगरका लागि हुसेन तलातले सर्वाधिक २९ रन बनाए । यस्तै रोहित कुमार पौडेलले २५ रन, सिकन्दर राजा १७ रन र अर्जुन साउद १० रनमा आउट भए । पृथु बास्कोटाले १८ रन बनाए । यता लुम्बिनीका लागि किशोर महतोले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनायो ।
दोस्रो खेलमा जित हात पारेको लुम्बिनी ४ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । हारसँगै पहिलो खेल खेलेको विराटनगर अंक बिहिन रहेर अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै आइतबार नै भएको अर्को खेलमा पोखरा एभेन्जर्सलाई ५ विकेटले हराउँदै जनकपुरले सुखद सुरुआत गरेको हो । पोखराले दिएको १ सय ३९ रनको लक्ष्य जनकपुरले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर १ सय ३९ रन जोड्दै पूरा गर्यो । जनकपुरको जितमा सन्दीप जोराले अविजित रहदै सर्वाधिक ४० रन बनाए । पोखराका जाहिर खानले ३ तथा मौषम ढकाल र शरद भेषवाकरले १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १९.४ ओभरमा अलआउट हुदै १ सय ३८ रन बनाएको थियो ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।