काठमाडौं । तीनपल्ट स्थगित भइसकेको बहुप्रतिक्षित नेपाल टी-२० क्रिकेट लिग आज (शनिबार) बाट सुरु हुने भएको छ ।
पहिलोपटक डबल राउण्ड रोबिन लिगका आधारमा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् ।
यसअघि नेपालमा निजी स्तरबाट तीनवटा फ्रेन्चाइजी क्रिकेट लिग हुने गर्थे । तर, निलम्बन फुकुवा भएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले आधिकारिक लिगका रूपमा नेपाल टी-२० क्रिकेट लिगलाई अघि सारेको हो । प्रतियोगितामा ६ शहरका ६ टोली भिड्दैछन् ।
विजेता टोलीले ५५ लाख प्राप्त गर्ने आयोजक क्यानले शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणा गरेको छ । नेपाली क्रिकेटमा यो विजेताले पाउन लागेको अहिलेसम्मकै उच्च पुरस्कार हो ।
यस्तै, उपविजेता टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने छन् । तेस्रो टोलीले १० लाख र चौथो हुनेले पाँच लाख रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ ।
त्यस्तै प्रतियोगिता प्लेयर अफ द टुनामेन्टले पाँच लाख तथा प्रतियोगिताका उत्कृष्ट ब्याटर र बलरले समान दुई लाख ५० हजार प्राप्त गर्नेन् ।
हरेक खेलको प्लेयर अफ द म्याचले ४० हजार प्राप्त गर्ने भएका छन् ।
प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, फार वेष्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार गरी ६ टिमको सहभागिता छ । कुल ३४ खेल हुनेछन् ।