काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ आइतवार राति सम्पन्न भएको छ । फाइनलमा साविक विजेता फ्रान्सलाई अर्जेन्टिनाले पराजित गर्यो । अर्जेन्टिनाले ३६ वर्षपछि विश्कप जित्दा उसका कप्तान लियोनेल मेस्सी सर्वकालीन महान् फुटबलरमा दरिएका छन् ।
८८ हजार दर्शक क्षमताको लुसेल आइकोनिक स्टेडियममा भएको रोमाञ्चक र सनसनीपूर्ण फाइनल भिडन्तमा मेस्सी प्रेरित अर्जेन्टिनाले टाइब्रेकरमा साविक विजेता फ्रान्सलाई ४–२ गोलले हराउँदै उपाधि जितेको हो ।
सर्वोत्कृष्ट खेलाडीसँगै मेस्सीले ब्यक्तिगत गोल्डेन बल पुरस्कार पाएका छन् । निर्धारित समयमा २–२ र अतिरिक्त समयमा ३–३ गोलको बराबरीमा सकिएको खेलमा टाइब्रेकरमा पुगेर अर्जेन्टिनाले बाजी मारेको थियो । फाइनल खेलमा मेस्सीले दुई गोल गरेका छन् । उनले टाइब्रेरममा पनि पहिलो गोल गर्दै टोलीको मनोबल उच्च राख्न सफल भए ।
पाँचौं पटक विश्वकप खेलेका ३५ वर्षीय मेस्सीले विश्वकपमा सर्वाधिक २६ खेल खेल्ने खेलाडीको कीर्तिमानसमेत रचेका छन् । उनले यसअघि जर्मनीका पूर्व मिडफिल्डर लोथर माथ्युसको नाममा रहेको २५ खेलको कीर्तिमान तोडेका छन् ।
फाइनल खेलमा दुई गोल गरेका मेस्सीले यस विश्वकपमा सात गोल गरेका छन् । मेस्सी विश्वकपमा सर्वोकृष्ट खेलाडी भएको दोस्रो पटक हो । यसअघि उनले सन् २०१४ को विश्वकपमा पनि यो अवार्ड जितेका थिए ।
छैटौं पटक विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिनालाई तेस्रो उपाधि दिलाउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका मेस्सीको यो पहिलो विश्वकप उपाधि हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ को विश्वकप उपाधि जितेको थियो ।
अर्जेन्टिना सन् १९३०, १९९० र २०१४ मा पनि फाइनलमा पुगेको थियो । विश्व फुटबलमा सबै खाले उपाधि चुमेका मेस्सीले विश्वकप उपाधि मात्र जित्न बाँकी थियो । विश्वकप उपाधि चुम्ने सपना पनि मेस्सीले कतारमा पूरा गरेरै छाडेका छन् ।
एमबाप्पेको पोल्टामा गोल्डेन बुट
फिफा विश्वकपको गोल्डेन बुट अवार्ड फ्रान्सका युवा स्टार केलिएन एमबाप्पेले जितेका छन् । सर्वाधिक गोल कर्ताले पाउने अवार्डका लागि एमबाप्पेले आठ गोल गरेका छन् ।
उनले अर्जेन्टिनाका मेस्सीलाई एक गोलले पछि पार्दै यो अवार्ड जितेका हुन । फाइनलमा सनसनीपूर्ण प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरेका २३ वर्षीया एमबाप्पेको फ्रान्सलाई लगातार दोस्रो पटक उपाधि दिलाउने धोको भने पूरा गर्न सकेनन् ।
यससँगै एमबाप्पेको विश्वकपमा व्यक्तिगत गोलसङ्ख्या १२ गोल पुगेको छ । एमबाप्पेले सिल्भर बलसमेत प्राप्त गरेका छन् । ब्रोन्ज बल क्रोएसियाका लुका मोड्रीचलाई प्रदान गरियो ।
मार्टिनेजले जिते गोल्डेन ग्लोभ
विश्वकपका उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने गोल्डेन ग्लोभ अवार्ड अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले जितेका छन् । ३० वर्षीय मार्टिनेजले फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले टाइब्रेकरमा फ्रान्सको प्रहार समेत बचाए । अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका निर्वाह गरेका मार्टिनेजले सबै खेल पूरा समय खेलेका थिए ।
उनले क्वार्टरफाइनलमा नेदरल्यान्ड्स र फाइनलमा फ्रान्सविरुद्धको दुवै टाइब्रेकरमा उत्कृष्टता प्रदर्शन गरे । अर्जेन्टिनाले यसअघि कोपा अमेरिका कप जित्दा पनि मार्टिनेजले उत्कृष्ट गोलरक्षक भएका थिए ।
यसैगरी फिफा योङ प्लेयर अवार्ड अर्जेन्टिनाका इन्जो फर्नान्डेजले जितेका छन् । यस अवार्ड २१ वर्षभन्दा मुनिमध्ये उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई दिइन्छ।
उपाधिसँगै अर्जेन्टिनाले पायो ४२ मिलियन डलर
कतार विश्वकप उपाधिसँगै अर्जेन्टिनाले ४२ मिलियन अमेरिकी डलर पुरस्कार पाएको छ । यो रकम सन् २०१८ को २१औं संस्करणभन्दा चार मिलियन अमेरिकी डलरले बढी हो ।
विजेता अर्जेन्टिनाले नगदसहित सुनको जडित ६.१ किलोग्रामको आकर्षक ट्रफीसमेत हात पारेको छ । उक्त सक्कली ट्रफी रनिङ ट्रफी हो । कुनै पनि देशले लगातार तीन पटक विश्वकप जितेमा मात्र सक्कली ट्रफी सधैँका लागि लैजान पाउने व्यवस्था छ ।
यस्तै उपविजेता फ्रान्सले ३० मिलियन अमेरिकी डलर पाएको छ । तेस्रो भएको क्रोएसियाले २७ मिलियन अमेरिकी डलर र चौथो भएको मोरोक्कोले २५ मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ ।
यसैगरी क्वार्टरफाइनलमा पुगेका टोलीले १७ मिलियन, अन्तिम १६ मा पुगेको प्रत्येक टोलीले १३ मिलियन र समूह चरणमा खेल्ने सबैले नौ मिलियन अमेरिकी डलर प्राप्त गरेका छन् ।