काठमाडौं । कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपको उपाधिका लागि आइतबार राति अर्जेन्टिना र फ्रान्सबीच लुसेल आइकोनिक स्टेडियममा प्रतिस्पर्धा हुँदैछ ।
साविक विजेता फ्रान्स लगातार विश्वकप जित्ने अभियानमा छ भने ८ वर्षपछि फाइनल पुगेको अर्जेन्टिना सन् १९८६ पछि विश्वकप उपाधि जित्ने लक्ष्यमा छ ।
डिएगो म्याराडोनाको नेतृत्वमा विश्वकप जिते यता अर्जेन्टिनाले ३६ वर्षसम्म उपाधि जित्न सकेको छैन ।
पछिल्लो पटक २०१४ मा फाइनल पुगेपनि लिओनल मेसीको अर्जेन्टिना फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो ।
फेरि एक पटक मेसीले अर्जेन्टिनालाई फाइनल पु¥याएका छन् र अन्तिम विश्वकप खेलिरहेका मेसीका लागि विश्वकप जित्नको लागि अर्को अवसर प्राप्त भएको छ ।
फ्रान्स भने पछिल्लो सात मध्ये चौथो पटक विश्वकप फाइनल पुगेको हो । १९९८ मा पहिलो पटक विश्वकप जितेको फ्रान्स २००६ मा भने इटलीसँग पराजित भएको थियो । डिफेन्डिङ च्याम्पियन फ्रान्स लगातार दोस्रो उपाधि जित्ने दोस्रो टिम बन्ने अभियानमा छन् । विश्वकपको इतिहासमा ब्राजिलले मात्र लगातार दुई (सन् १९५८ र सन् १९६२) उपाधि जितेको छ ।
फ्रान्स र अर्जेन्टिनाबीचको विगत भने अर्जेन्टिनाको पक्षमा छ । अहिलेसम्म यी दुई टोलीबीच कूल १२ खेल भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जित्दा फ्रान्सले ३ खेल मात्र जितेको छ ।
यस्तै विश्वकपमा भएका प्रतिस्पर्धामा पनि अर्जेन्टिना अगाडि छ । विश्वकपमा तीन खेलमा भेट हुँदा अर्जेन्टिनाले २ खेल जितेको छ भने फ्रान्सले १ खेल जितेको छ ।
पछिल्लो पटक २०१८ मा रुसमा भएको विश्वकपको अन्तिम १६ मा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले पराजित गरेको थियो ।
यी दुईबीच १९३० को विश्वकपमा पहिलो पटक भेट भएको थियो । जहाँ अर्जेन्टिनाले प्रान्सलाई १–० ले पराजित गरेको थियो । यस्तै १९७८ को विश्वकपमा अर्जेन्टिनाले फ्रान्सलाई समूह चरणमा ३–१ ले पराजित गरेको थियो । यी दुईबीच बराबरी भएको तीनवटै खेलमा कुनै गोल भएको थिएन ।