सर्लाही । तराईका अधिकांश ठाउँमा बिहीबारदेखि बाक्लो हुस्सु लागेर शीत झर्न सुरु भएको छ। बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि जनजीवन प्रभावित भएको छ ।
बुधबारदेखि बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि मधेस प्रदेशको जनजीवन प्रभावित हुन थालेको हो ।
चिसो बढेपछि बालबालिका, वृद्धवृद्धा र दीर्गरोगी बढी प्रभावित भएका छन् । छाप्रामा बस्ने अतिविपन्न तथा मजदुर परिवार ताता खानेकुरा र न्यानो कपडाको अभावमा कठ्याङ्ग्रिन थालेका छन् । चिसो बढेपछि विपन्न समुदायको बाहुल्यता रहेको बस्तीमा समस्या सुरु भएको स्थानीयवासीले बताएका छन् ।
चिसो छल्न स्थानीयवासीले आगो बालेर ताप्न थालेका छन् । चोक– चौतारामा मानिसको जमघट बन्द भएको छ । कठ्याङ्ग्रिँदो चिसोले विद्यार्थीलाई विद्यालय जान समस्या भएको छ भने मजदुर र किसानलाई नियमित काममा निस्कन गाह्रो परेको छ ।
बढी बाक्लो मात्रामा हुस्सु लागेपछि गाउँले आगो बालेर ताप्न थालेको र पशु चौपायालाई पराल ओछ्याउने, बोरा ओढाउनेलगायत काम गर्न थालेका छन् ।
चिसोबाट टाउको दुख्ने, कोल्ड डायरिया हुने, छातीमा सङ्क्रमण हुने, रुघाखोकी लाग्नेजस्ता स्वास्थ्य समस्या देखिने भएकाले चिसोबाट जोगिने उपाय अपनाउन चिकित्सक काफ्लेले सुझाव दिएका हुन्।
पश्चिम तराईमा पनि चिसो बढ्यो
बुधबारदेखि बाँकेलगायत पश्चिम तराईमा पनि चिसो बढेको छ । चिसोले बिहान स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन् ।
न्यानो कपडाका पसल तथा सकडपेटीका पसलमा ग्राहकको भीड बढेको छ । सडकपेटीमा लुगा पाउने गरेकाले ग्राहकको भीड लाग्न थालेका छन् । कठङ्याङ्ग्रिँदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको छ
चिसोकै कारण बिरामीसमेत बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् । बाक्लो हुस्सु लागेपछि यहाँका हवाई उडान सेवा प्रभावित हुन थालेको छ । बाक्सो हुस्सु लागेपछि भिजिविलिटी कम हुँदा दुई दिनदेखि राँझा विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको हो । दिउँसोको समयमा भने हवाई सेवा नियमित भइरहेको नेपाल नागरिक उड्डयन कार्यालय बाँकेले जनाएको छ । कार्यालयका अनुसार राँझा विमानस्थलमा हवाई उडान र अवतरणका लागि एक हजार छ सय मिटर भिजिबिलिटी आवश्यक पर्दछ ।

























