दोहा । विश्वकप फुटबलको उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । बुधबार राति मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्सले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएसँगै उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्ने भएका हुन् ।
विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको इतिहास बनाएको मोरक्कोलाई खेल सुरु हुनुअघि नै झड्का लागेको थियो । सुरुवाती टिममा नाम भए पनि मुख्य डिफण्डर नायेफ एग्यूर्ड चोटका कारण बाहिरिए । खेलको पाँचौं मिनेटनै थियो हर्नाण्डेजको गोलबाट फ्रान्सले अग्रता बनाइराख्न सक्यो ।
मोरक्को टिमको प्रयास र भावनाका बाबजुद फ्रान्सेली टिम अधिक प्राविधिक र सन्तुलित थियो । ७९औं मिनेटमा उस्मान डेम्बेलेलाई प्रतिस्थापन गरी मैदान छिर्नुभएका एक मिनेट नबित्दै कोलो मुआनीले गोल गरेपछि आगामी आइतबार दोहाको लुसेल रंगशालामा लियोनल मेस्सीको अर्जेन्टिनासँग फ्रान्सको भेट निश्चित भएको हो ।
मोरक्कोले रोमन साइसलाई पनि चोटका कारण पहिलो हाफमै गुमायो । यद्यपि समर्थकको अटूट स्नेहका साथ उसले खेल बराबरीको नजिक पुर्याएको । विशेष गरी जावद एल यामिकको प्रहार फ्रान्सेली कप्तान गोलकिपर ह्युगो लोरिसले बचाएका थिए ।
फ्रान्सका लागि लिभरपुलका डिफेण्डर इब्राहिम कोनाटेको प्रदर्शन शानदार थियो । अल बायेट रङ्गशालामा मोरक्कनको बाहुल्य रहेको माहोलमा फ्रान्सेली खेलाडीले आफ्नो संयमता कायम राखे । पहिलो हाफमा ओलिभर जिरोउडको एउटा प्रहार पोष्टमा लागेको थियो ।
अर्जेन्टिना यसअघि मंगलबार राति क्रोएसियालाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ । यसअघि यी दुवै टोलीले समान दुई पटक विश्वकप जितेका छन् ।
१९९८ मा पहिलो पटक ब्राजिललाई पराजित गर्दै उपाधि जितेको फ्रान्सले गएको विश्वकपमा क्रोएसियालाई पराजित गर्दै दोस्रो पटक उपाधि उचालेको थियो ।
अर्जेन्टिनाले १९७८ मा नेदरल्याण्ड्सलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो । १९८६ मा जर्मनीलाई पराजित गर्दै अर्को उपाधि थप्यो । त्यसपछि दुई पटक फाइनलमा पुगे पनि अर्जेन्टिनाले उपाधि थप्न सकेको छैन ।