दोहा । अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसी आफ्नै कप्तानीमा विश्वकपको उपाधि जित्ने सपनाको नजिक पुग्नुभएको छ । बुधबार कतारको लुसाइल रंगशालामा टीमको प्रभावशाली खेलसँगै अर्जेन्टिना फाइनलमा पुगेको हो । गुरु/चेला लियोनल मेस्सी र जुलियन अल्भारेजले प्रभावशाली प्रदर्शन गरेपछि अर्जेन्टिना दोहाको लुसेल रंगशालामा क्रोएसियालाई ३-० ले हराएर छैटौंपल्ट फिफा विश्वकपको फाइनलमा पुगेको छ ।
लियोनल मेस्सीलाई फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधि जित्ने सम्भवतः यो अन्तिम अवसर हो । उहाँको शानदार करिअरमा अहिलेसम्म यो सफलता मिलेको छैन । अब दोस्रो सेमिफाइनलमा साविक विजेता फ्रान्स र मोरक्को आमनेसामने हुनेछन् । फ्रान्स र मोरोक्को फाइनल प्रवेशका लागि बिहीबार राति पौने १ बजे प्रतिस्पर्धा गर्दैछन् ।
खेलको ३४ औं मिनेटमा क्रोएसियाका गोलकिपरले १८ यार्ड बक्समा जुलियनलाई फल गरेपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पायो । जसको भरपुर सदुपयोग गर्दै मेस्सीले गोलको दिशा दिए ।
पाँचौँ पटक विश्वकप खेलिरहेका अर्जेन्टिनी स्टार मेस्सीले आफ्नो बायाँ खुट्टाले पोस्टको दायाँ कुनामा प्रहार गर्दै टीमलाई १–० को अग्रता दिलाए ।
विश्वकपमा अर्जेन्टिनाका लागि ११ गोल गर्दै कीर्तिमान बनाएका मेस्सीले कतार विश्वकपमा मात्रै पाँच गोल गरिसकेका छन् । यससँगै गोल्डेन बुटका लागि मेसीले आफ्नो दाबी कायमै राखेका छन् ।
बुधबारको रोमाञ्चक खेलमा मेस्सीले गोल गरेको पाँच मिनेटपछि जुलियनले एक गोल थप्दै अग्रता दोब्बर बनाए । मेस्सीको हेडर पासमार्फत मध्यभागबाट बल लिएर अघि बढेका उनले क्रोएसियाको कडा डिफेन्स चिर्दै गोल गर्न सफल भएका हुन् ।
पहिलो हाफमा २-० ले अगाडि रहेको अर्जेन्टिनाका लागि दोस्रो हाफमा फेरि जुलियनले मेस्सीको असिस्टमा अर्को गोल गरे । ६९ औँ मिनेटमा गोल थप्दै उनले टीमलाई ३-० को अवस्थामा पुर्याए । यसपछि दुबै टोलीबाट कुनै गोल हुन सकेन भने अर्जेन्टिना विजयी भयो ।
अर्जेन्टिनाले क्रोएसियालाई हराएर सन् २०१८ को विश्वकपको समूह चरणमा भोगेको ३-० को पराजयको पनि बदला लिएको छ ।
यसैबीच मेस्सीले विश्वकपमा २५ म्याच खेल्ने जर्मन खेलाडी लोथर म्याथुससँग बराबरी गरेका छन् ।
अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा विश्वकपको उपाधि जितेयता अर्को उपाधि जित्न सकेको छैन । पछिल्लो पटक अर्जेन्टिना सन् २०१४ मा विश्वकपको फाइनलमा पुगेको थियो ।