काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि आयोग प्रतिवद्ध रहँदै आएको बताएका छन् ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रणका लागि आएका उजुरीउपर तथ्य प्रमाणको आधारमा प्रभावकारी अनुसन्धान एवम् अभियोजनको काम भइरहेको बताए ।
उनले संविधानले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरी भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माणका लागि उपचारात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासको चारखम्बे रणनीतिलाई आयोगले अवलम्बन गरिरहेको स्पष्ट पारे ।
भ्रष्टाचारविरुद्ध कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी निकायको समन्वयात्मक प्रयत्न हुन जरुरी रहेको औंल्याउँदै प्रमुख आयुक्त राईले भ्रष्टाचारका दृष्टिले उच्च जोखिम क्षेत्रमा विशेष निगरानी बढाउने कामलाई अघि बढाइएको उल्लेख गरे ।
प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रण गर्ने राज्यको नीतिलाई व्यवहारमा उतार्ने काममा तीन वटै तहको सरकार, नागरिक समाज, सञ्चारकर्मीलगायत सबैको निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको बताए ।




















