दाङ । लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलबाट स्थायी राजधानी दाङमा मुख्यमन्त्रीको कार्यालय सारिएको छ ।
मुख्य मन्त्रीको कार्यालय र मुख्य सचिवका सबै सामग्री आइतबार राति नै सारिएका हुन । ती कार्यालय प्रयोजनका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री राति नै ट्रकमा ल्याइएको छ ।
योसँगै अब स्थायी राजधानी कार्यान्वनको तयारी अन्तिम चरणमा पुगेको छ । मुख्य मन्त्री कुलप्रसाद केसी (सोनाम) आफ्नै कार्यकालमा राजधानी कार्यान्वनका लागि पछिल्लो केही समय रातदिन दाङको राप्ती गाउँपालिकामा बस्दै आएका छन् ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) मा अब नयाँ प्रदेशसभा सदस्यको शपथ र सभा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ । दाङ देउखुरीको लालमटियामा निर्माणाधीन प्रदेशसभा भवन निर्माण कार्य पुरा भइसकेको छ । यहीबाट प्रदेशसभा सञ्चालनको अन्तिम तयारी भइरहेको छ ।
स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) तोक्ने निर्णय गरे पनि पूर्वाधार अभावको कारण राजधानीको कामकाज अस्थायी मुकाम बुटवलबाटै हुँदै आएको थियो । प्रदेशसभा सदस्यको शपथ र सभा सञ्चालन स्थायी राजधानीमा निर्माण भएको प्रदेशसभा भवनबाट गर्ने योजना सरकारले तय गरेको छ । अब नयाँ बन्ने मुख्यमन्त्री र मन्त्रीहरुको पनि शपथग्रहण स्थायी राजधानीमै गर्ने तयारी थालिएको छ । दाङमा यसअघि नै दुईवटा मन्त्रालय स्थान्तरण भइ सकेका थिए । तर काम भने बुटवलबाट हुँदै आएको थियो ।
निर्वाचन आचारसंहिता सकिने बितिक्कै एक औपचारिक समारोह गरेर स्थायी राजधानीलाई कार्यान्वायनमा ल्याउने तयारीमा सरकार जुटेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बस्ने भवन मर्मतको काम तीब्र रुपमा भइ रहेको छ । राप्ती प्राविधिक शिक्षालयले प्रशिक्षणको लागि प्रयोग गर्दै आएको भवनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको रुपमा बिकास गर्न थालिएको छ ।
भवनमा रङ रोगन गर्ने, भित्री कोठा मर्मत गर्ने, शौचालय थप गर्ने, मन्त्रिपरिषद् बैठक बस्ने कक्ष तयार पार्ने काम तीब्र रुपमा भइर भइ रहेको छ । प्रदेशको प्रशासनिक केन्द्र निर्माणको लागि तत्काल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्रीको निवास, प्रमुख सचिवको निवास व्यवस्थापनको कामपनि सोही गतिमा भइरहेको छ ।