कतार । विश्वकप फुटबल सुरु हुनुभन्दा अगाडि अनुमान गरिएका प्रायः खेलाडी नै गोल्डेन बुटको दौडमा रहेका छन् ।
कतारमा जारी फिफा विश्वकपमा अगाडि देखिएका फ्रेन्च फरवार्ड किलियन एक्बाप्पेले गोल्डेन बुटमा अग्रता लिएका छन् ।
चार वर्षअघि रुसमा फ्रान्स विश्वकप विजेता बन्दा टिमका महत्त्वपूर्ण सदस्य रहेका एम्बाप्पले त्यो संस्करणभन्दा धेरै गोल गरिसकेका छन् । आइतबार राति अन्तिम १६ अन्तर्गत पोल्यान्डविरुद्धको खेलमा गोल गरेका एम्बाप्पेले पाँच गोल गरिसकेका छन् ।
चार वर्षअघि रुसमा पाँच गोल गरेका ह्यारी केनले ६ गोलसहित गोल्डेन बुट जितेका थिए । सन् २०१४ मा ब्राजिलमा कोलम्बियन अट्याकर हामेस रोडरिग्वेजले पनि समान ६ गोलसहित नै गोल्डेन बुट जितेका थिए ।
त्यसअघि सन् २०१० र २००६ मा पाँच-पाँच गोल गरेका थोमस मुलर र मिरास्लभ क्लोसले गोल्डने बुट जितेका थिए ।
पछिल्ला संस्करणलाई हेर्ने हो भने एम्बाप्पे गोल्डेन बुटको एकदम नजिक छन् । साविक विजेता फ्रान्सले विश्वकपमा अझै लामो यात्रा तय गर्यो भने एम्बाप्पेको दाबेदारी अझै बलियो बन्दै जानेछ ।
जारी विश्वकपमा ६ खेलाडीले तीन गोलसहित एम्बाप्पेलाई पछ्याइरहेका छन् । तीन गोल गरेका इक्वेडरका इनर भ्यालेन्सिया दौडबाट बाहिरिइसकेका छन् ।
एम्बाप्पेलाई पछ्याउनेमा अर्जेन्टिनी स्टार लियोनेल मेसी, फ्रान्सकै ओलिभर जिरुड, इङ्ल्यान्डका बुकायो साका र मार्कस रासफोर्ड, नेदरल्यान्ड्सका कोडी गाक्पो र स्पेनका अल्भारो मोराटा छन् ।
गोल्डेन बुट दौडमा भएका खेलाडी:
१. किलियान एम्बाप्पे (फ्रान्स) ५ गोल
२. लियोनेल मेसी (अर्जेन्टिना) ३ गोल
३. कोडी गाक्पो (नेदरल्यान्ड्स) ३ गोल
४. अल्भारो मोराटा (स्पेन) ३ गोल
५. मार्कस रासफोर्ड (इङ्ल्यान्ड) ३ गोल