काठमाडौं । यतिबेला प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म एक सय ५९ सिटको मतपरिणाम आइसकेको अवस्था छ ।
तीन क्षेत्रको मतगणना जारी रहेको छ । दोलखा, बाजुरा र स्याङ्जा २ मा भने मतगणना सुरु नै हुन सकेको छैन । दोलखामा १० मतदान केन्द्रमा १५ मंसिरमा चुनाव हुने भएको छ ।
बुथ कब्जा र धाँधली भएको भन्दै एमालेले उजुरी हालेपछि ती क्षेत्रहरुमा पुनः मतदान हुन लागेको हो । बाजुराको बुढीनन्दा नगरपालिकामा १० मंसिरमै मतदान भइसकेको छ । अब सो क्षेत्रको मतगणना गर्न बाँकी रहेको छ ।
अहिलेसम्मको निर्वाचनको नतिजालाई हेर्दा कुनै पनि दलले एक्लै सरकार बनाउन सक्ने अवस्था रहेको छैन । मिलिजुली सरकार बन्ने अवस्था आएको छ ।
निर्वाचनको प्रत्यक्षतर्फ सत्ता गठबन्धनले बहुमत त ल्याएका छन् तर समानुपातिक मतपरिणाम सार्वजनिक नभई सरकार बन्न सक्ने अवस्था देखिँदैन । तर पनि प्रमुख दलका नेताहरू प्रधानमन्त्रीको दौडमा लागेका छन् ।
प्रधानमन्त्रीको दौडमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, गगन थापा, शशांक कोइराला रहेका छन् ।
यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि प्रधानमन्त्रीको रेसमा रहेका छन् । तर, यसपटक उनलाई प्रधानमन्त्री बन्न त्यति सजिलो भने छैन । यदि कांग्रेसकै नेतृत्वमा सरकार बनेमा दोस्रो कार्यकाल आफूले पाउनुपर्ने उनको दाबी छ । तर, उनले खुला रूपमा यसबारे केही बोलेका छैनन् ।
कांग्रेसमा प्रधानमन्त्रीका लागि खासगरी देउवा, पौडेल, थापा र प्रकाशमान बीच ठूलै रस्साकस्सी चलेको छ । सबै नेताले आफू निकटका सांसदहरूलाई भेट्न थालेका छन् । उनीहरूका रायसुझाव लिइरहेका छन् कांग्रेस पहिलो दल बनेकाले संविधानअनुसार स्वाभाविक रूपमा सरकारको दाबी गर्ने पहिलो अधिकार उसकै हुन्छ । त्यही भएर पनि अन्य दलका नेताहरू अघि बढेका छैनन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त तत्काल वाम गठबन्धनको सरकार बन्न नसक्ने बताएका छन् । मंगलबार पार्टी कार्यालयमा चुनावी समीक्षा बैठक सकेर बाहिर सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले अहिलेकै सत्ता गठबन्धनले निरन्तरता पाउने बताए । उनले दोलखा, बाजुरा, स्याङ्जामा मत गन्न बाँकी रहेकाले नयाँ सरकार गठनका लागि प्रशस्त समय रहेको बताए ।
कांग्रेस महामन्त्री गगन थापा भने अब कांग्रेसमा युवा पुस्ता प्रधानमन्त्रीका लागि योग्य रहेकाले अबको पाँच वर्षसम्म धैर्य गर्न नसक्ने बताउँदै आएका छन् । उनले कांग्रेसमा युवा पुस्ताले प्रधानमन्त्री चलाउनुपर्ने भन्दै त्यसका लागि छलफल सुरु भइसकेको बताए । कांग्रेस नेता रामचन्द्र पौडेल भने अहिले पनि आफूले प्रधानमन्त्री बन्ने अवसर नपाए कहिले पाउने भन्दै अभियान नै चलाएर अगाडि बढेका छन् ।
कांग्रेसभित्रको यस्तो कलहले फेरि पनि प्रधानमन्त्रीमा देउवाले नै निरन्तरता पाउने अवस्था देखिएको छ ।
एमाले अध्यक्ष केपी ओली सत्ता गठबन्धन भंग नगरी प्रधानमन्त्री बन्न सक्ने अवस्थाम देखिँदैन । तर पनि उनले विभिन्न दलका नेताहरूसँग छलफल भने अगाडि बढाएका छन् ।