काठमाडौँ । कतारमा जारी फिफा विश्वकप अन्तर्गत घानाले पहिलो जित हात पारेको छ । समूह ‘एच’ अन्तर्गत एजुकेसन सिटी स्टेडियममा भएको खेलमा घानाले दक्षिण कोरियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
पहिलो खेलमा पोर्चुगलसँग ३-२ को पराजय भोगेको घानाले महत्वपूर्ण तीन अंक जोड्दै नकआउट चरणको सम्भावना जिवितै राखेको छ । दक्षिण कोरियाले पहिलो खेलमा उरुग्वेविरुद्ध गोलरहित बराबरी खेलेको थियो ।
दक्षिण कोरियाविरुद्ध घानालाई जित दिलाउन मोहमद कुदुसले २ तथा मोहमद सालिसुले १ गोल गरे । दक्षिण कोरियाका लागि चो गुए-सङले दुवै गोल गरे ।
सालिसुले २४ औँ मिनेटमा गोल गर्दै घानालाई अग्रता दिलाए भने कुदुसले ३४ औँ मिनेटमा अग्रता दोब्बर बनाए ।
तर, चोले ५८ औँ र ६१ औँ मिनेटमा दक्षिण कोरियाका लागि गोल गर्दै खेललाई २-२ को बराबरी पुर्याए । त्यसपछि घानाका कुदुसले ६८ औँ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई जित दिलाए ।
यस समूहमा घाना र पोर्चुगलको समान ३-३ तथा दक्षिण कोरिया र उरुग्वेको समान १-१ अंक छ ।