इलाम । सत्ता गठबन्धनका तर्फबाट इलाम क्षेत्र नं. १ मा चुनाव लडेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल फराकिलो मतान्तरसहित पराजित भएका छन् । खनाललाई एमालेका उम्मेदवार महेश बस्नेतले २ हजार ९५७ मतको फराकिलो अन्तरले हराएका हुन ।
नेकपा एमाले इलाम जिल्ला कमिटीका अध्यक्ष बस्नेत यसअघिका चुनावको क्षेत्र १ मा झलनाथ खनाल र क्षेत्र २ मा सुवास नेम्बाङ जिताउन खटिने गरेका थिए । खनाललाई जिताउन निर्वाचन परिचालन कमिटीको संयोजन गर्ने बस्नेतले नै यस पटक खनाललाई हराएका हुन ।
क्षेत्र–२ मा नेम्बाङले ११६ मतको थोरै मतान्तरले जित्दा बस्नेतले भने अत्याधिक मतान्तरसहित जितेका हुन । बस्नेत उम्मेदवार बनेको यो संसदीय चुनाव पहिलो हो ।
आफ्ना विगतका कार्यकर्ताबाट हार व्यहोर्नु परेकाले पनि होला खनाललाई हार स्वीकार्न सकस देखिएको छ । अन्य क्षेत्रहरु विजेताहरुलाई प्रतिस्पर्धीले वधाई दिए पनि खनाल भने हार्ने निश्चित भएपछि काठमाडौं फर्किए ।
मतगणनाका क्रममा धाँधली भएको आरोप लगाउँदै पुनःमतदानको माग राखेर विवाद झिकेका खनालकै अडानका कारण गणना डेढ दिनसम्म स्थगित भएको थियो । एकीकृत समाजवादीका सम्मानित नेता खनाललाई सत्ता गठवन्धन कांग्रेस, माओवादी केन्द्र र जनमोर्चाको साथ थियो । तर एमाले एक्लै चुनाव लडेको थियो ।
जनसाँस्कृतिक मन्च हुँदै एमालेको राजनीतिमा आएका बस्नेत यसअघि दुईपल्ट इलाम नगरपालिकाको मेयर भएका थिए । नेपाल नगरपालिका संघको प्रदेश १ संयोजक समेत भएका बस्नेत पार्टीमा भने प्रायः लो प्रोफाइलमा बस्दै आएका थिए ।
तत्कालीन जिल्ला अध्यक्ष राम राना एमालेको दसौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा चुनिए पछि बस्नेत जिल्ला कमिटीको अध्यक्ष भएका थिए ।
विगतमा पटकपटक जिताएका जनतालाई समेत खनालले अपमानित गरेका छन् । अन्तिम परिणाम नआउँदै इलाम छाडेर हिडेका खनालले एक अनलाइनलाई दिएको प्रतिक्रियामा भनेका छन् – ‘मतगणना चल्दै छ, अन्तिम अवस्थामा पुगेको छ। त्यो धाँधलीपूर्ण छन्, कयौं मत गायब छन्, त्यो धाँधलीपूर्ण नाटक किन हेर्नु भनेर म त्यहाँबाट हिँडे। अहिले काठमाडौं फर्कँदै छु।’
मतगणनाको रमाइलो इलामेली जनताले नै हेरुन् भनेर छाडेको उल्लेख गर्दै खनालले भनेका छन् – ‘इलामेली जनताले नै यहाँको यो रमाइलो हेरुन् भनेर म हिँडेको छु। इलामा धेरै काम गर्नुछ भन्ने लागेको थियो, तर अब हल्का भएर हिँडेको छु ।’
चुनावी परिणाममा आफ्नो विरोध रहिरहने बताउँदै खनालले भनेका छन् ‘यहाँको चुनावमा मेरो विरोध रहन्छ। यो निर्वाचन धाँधलीपूर्ण निर्वाचन हो, यहाँको प्रदेशसभा ‘क’ र ‘ख’ मा गठबन्धनले जित्दैछ। तर संघमा भने धाँधली भएको छ।’























