दोहा । पहिलो हाफमा लिएको १–० को अग्रता जोगाउन नसक्दा अर्जेन्टिना ३२ वर्षपछि विश्वकपको पहिलो खेलमा पराजित भएको छ ।
लुसेल रंगशालामा १०औं मिनेटमा लियोनेल मेसीले गोल गर्दै दक्षिण अमेरिकी महारथीलाई अग्रता दिलाएका थिए ।
सोही गोलमार्फत् पहिलो हाफमा १–० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा दुई गोल खायो । दोस्रो हाफमा आक्रामक शैलीमा मैदानमा उत्रिएको साउदीका लागि लागि ४८औं मिनेटमा सले अलशेहेरीले बराबरी गोल फर्काएका थिए ।
त्यसको पाँच मिनेट नबित्दै सलिम अलदावसरीले गरेको गोलसँगै मध्यपूर्वी मुलुकले २–१ को अग्रता बनाएको थियो ।
सोही अग्रताको सहज बचाउ गर्दै साउदी अरबले ऐतिहासिक जित हासिल गर्यो। अर्जेन्टिना २८ वर्षअघि सन् १९९० मा इटालीमा भएको विश्वकपमा क्यामरुनसँग पहिलो खेलमै पराजति भएको थियो ।
साउदी अरबले भने हालसम्म विश्वकपमा सबैभन्दा ठूला टिमविरुद्ध जित हासिल गरेको छ । यसअघि सन् १९९४ मा अमेरिकामा भएको विश्वकपको समूह चरणमै युरोपेली प्रतिद्वन्द्वी बेल्जियमलाई १–० गोलको नतिजामा पराजित गरेको थियो ।
अर्जेन्टिना पहिलो हाफमा गरेका तीन गोल अफसाइडका कारण रद्द हुँदा दुर्भाग्यशाली साबित भयो। अर्जेन्टिनाले साउदीको पोस्टमा गरेका १५ मध्ये ६ वटा प्रहार फ्रेममा परेका थिए ।
यद्यपि, दोस्रो हाफमा सन्तुलित डिफेन्सको उत्कृष्ट नमुना देखाएको साउदीले कुनै पनि प्रयास सफल हुन दिएन ।