बैतडी । बैतडीमा प्रहरी बोकेको जीप सोमबार बिहान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका-४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो ।
बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार दुर्घटनामा परेर जीपमा सवार ६ जना प्रहरीको मृत्यु भएको हो । उनीहरुको सनाखत हुन बाँकी रहेको छ ।
जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्कदै गरेको प्रहरी टोली सवार जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइते हुनेमा गोपालबहादुर पाल, आसा धामी, भानु बिष्ट, अर्जुन कठायत, टेकेन्द्रसिंह ऐर र लोकबहादुर कठायत रहनुभएको छ ।
घाइतेको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर बोलाइएको बैतडीका प्रजिअ पन्थीले बताउनुभयो ।
जीप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ । जीपमा चालकसहित १२ जना सवार थिए । घटनाको थप अनुसन्धान भइरहेको छ ।