काठमाडौं । नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेलमा युएईलाई ३ विकेटको पराजित गरेको छ ।
यो जितसँगै नेपालले तीन खेलको शृंखलामा १–१ को बराबरी गरेको छ । शुक्रबार हुने निर्णायक खेलले शृंखलाको विजेता टुंगो लगाउनेछ । यसअघि सोमबार भएको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको यूएईलाई नेपालले ४३.२ ओभरमा एक सय ९१ रनमा अलआउट गरेको थियो । नेपालले ४८औं ओभरमा सात विकेट गुमाएर एक सय ९३ रनसहित लक्ष्य पूरा गर्यो ।
दोस्रो इनिङको खराब सुरुआत गरेको नेपालका लागि गुल्शन झाले सर्वाधिक ३७ रनको इनिङ खेले ।
सातौं विकेटका लागि आरिफ शेखसँग ६२ रनको साझेदारी गरेका गुल्शनले निरन्तर विकेट गुमाएर हारको संघारमा पुगेको नेपाललाई पुनरागमनको बाटो देखाएका थिए। नेपालका लागि जितका आधार बनेका तल्लो मध्यक्रमका अर्का ब्याटर आरिफले पनि ५८ बलमा तीन चौकासहित ३३ रनको अविजित इनिङ खेले ।
नवौं नम्बरमा क्रिजमा उत्रिएका सोमपाल कामी १६ रनमा अविजित रहे । त्यसअघि कुशल भुर्तेल ५२ बलमा ६ चौकासहित ३५ रनको योगदान गरेर पेभेलियन फर्केका थिए । त्यसअघि पूर्व कप्तान ज्ञानेन्द्र मल्ल २६ र दीपेन्द्रसिंह ऐरी १३ रन बनाएर आउट भएका थिए ।
यूएईका लागि रोहन मुस्ताफाले १० ओभरमा २४ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । त्यस्तै हजरत बिलालले दुई र बासिल हमिदले एक विकेट लिए ।
पहिलो इनिङमा यूएईका लागि ओपनर मुहम्मद वासिम ४६ बलमा तीन चौका र चार छक्कासहित ५० रनको अर्धशतकीय इनिङ खेले। यस्तै, अलिसान सारफुले ३५, वृत्य अरविन्दले २५, बासिल हामिदले २४ र कप्तान सीपी रिजवानले २२ रनको योगदान गरे ।
नेपालका लागि सबै (६) जना बलरले विकेट लिए। १० ओभरमा ४१ रन खर्चिएका ललितले तीन विकेट लिएका थिए। त्यस्तै सोमपालले ७.२ ओभरमा ३५ रन खर्चेर तीन विकेट लिए। करण केसी, गुल्शन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक-एक विकेट लिए ।
सोमबार भएको पहिलो एकदिवसीयमा नेपाल ८४ रनले पराजित भएको थियो। यो जितसँगै नेपालले शृंखला एक-एक बराबरी गरेको छ । तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय शुक्रबार हुनेछ ।