काठमाडौं । रोहन मुस्ताफाको अर्धशतकप्रेरित यूएईले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपाल ८४ रनले पराजित गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ६३ रनको योगफल तयार गरेको थियो ।
दोस्रो इनिङमा नेपालले निर्धातिर ५० ओभरमा ९ विकेट गुमाएर एक सय ७९ रन मात्रै बनाउन सक्यो । नेपालका लागि डेब्यूट्यान्ट अर्जुन साउद र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ खेले पनि जितका लागि पर्याप्त भएन ।
नेपालका लागि छैटौं नम्बरमा क्रिजमा उत्रिएका दीपेन्द्रले ८२ बलमा ६ चौकासहित अर्धशतक पूरा गरे ।
त्यसअघि डेब्यूट्यान्ट अर्जुन साउदले पनि अर्धशतक बनाएका थिए । ओपनिङमा आएका अर्जुनले ७७ बलमा पाँच चौकासहित अर्धशतक पूरा गरेका थिए । यूएईका रोहन मुस्ताफाले फालेको ७८औं बलमा उनी बोल्ड हुन पुगे । गुल्शन झा १९ र ललित राजवंशी ६ रनमा अविजित रहे । त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेखनीय रहेन ।
बलिङतर्फ यूएईका लागि डेब्यूट्यान्ट आयान अफ्जल खानले १० ओभरमा मात्र १४ रन खर्चिएर चार मेडनसहित सर्वाधिक चार विकेट लिए। बासिल हामिदले पाँच ओभरमा १३ रन खर्चेर एक मेडनसहित दुई विकेट चट्काए। त्यस्तै, जहुर खान, रोहन मुस्ताफा र अहमद राजाले एक-एक विकेट लिए।
पलिहो इनिङमा यूएईका लागि ७३ बलको सामना गरेका मुस्ताफाले सात चौकासहित ५३ रनको अर्धशतकीय इनिङ खेलेका थिए । त्यसअघि पहिलो विकेटका लागि ७५ रनको साझेदारी गर्दै मुहम्मद वासिमले ४४ तथा वृत्या अरविन्दले ४० रनको योगदान गरेका थिए ।
कप्तान सीपी रिजवान दुई रनमा आउट हुँदा अलिशान सारफुले २९ रन जोडे । बासिल हमिद १४, अफ्जल खान २६ रन बनाएर आउट हुँदा अहमद राजा २७ र जुनेद सिदिक्वी एक रनमा अविजित रहे ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी सिरिजको दोस्रो खेल बुधबार र अन्तिम खेल शुक्रबार हुनेछ ।